नेपाल कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयले विवाद चर्किँदै गएपछि संस्थापन पक्षीय नेताहरू छुट्टै छलफलमा जुटेका छन्। संस्थापन समूहको छलफल नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा जारी छ।
बैठकमा देशको विकसित राजनीतिक घटनाक्रमसहित पार्टीभित्रका आन्तरिक मतभेदबारे छलफल चलिरहेको केन्द्रीय सदस्य शंकर भण्डारी बताए। उनी सञ्चारकर्मीहरुसँग भन्छन्,, ‘केन्द्रीय समिति बैठक पटक पटक स्थगित भएको अफ्ठेरो अवस्था छ। त्यसैले हामीले सामूहिक धारणा बनाऔँ भनेर छलफल गरेका हौँ। अहिले छलफल चलिरहेको छ।’
भेलामा करिब ४५ भन्दा धेरै केन्द्रीय सदस्यहरू सहभागी रहेको भण्डारीले बताए। महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन। बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ठूलो संख्या चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर संस्थापन पक्ष फागुन २१ को चुनावपछि वैशाखमा मात्रै गर्नुपर्ने अडानमा छ।