Connect with us

राजनीति

विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

Published

on

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रै विभिन्न पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने विघटित केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

उनले भनेका छन्, “पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब करिब सहमति भइसकेको छ। आज खासगरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ।” प्रवक्ता सापकोटाका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ।

एकताबारे नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको चिरण सि नेतृत्वको समूहसँग पनि छलफल भइरहको उनले जानकारी दिए । “सबैसँग वाम एकता गर्ने हाम्रो जोड हो, तर एकता ढिलो गर्नुहुँदैन, एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ भन्ने आजको निष्कर्ष हो, नभए राष्ट्र झन् झन् अराजकतातिर गइरहेको छ। फागुन २१ गते सरकारले चुनावको घोषणा गरेको छ, यी अवस्थालाई मध्येनजर गर्दै एकतालाई अगाडि बढाउने भनिएको छ।”

नेता जनार्दन शर्माले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने बताएका थिए । उनी आफू बोलेपछि बैठक छोडेर हिडेका थिए । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताबारे शर्माको केही फरक मत रहेको तर उहाँ र एकीकृत समाजवादीमा फरक मत राखेका झलनाथ खनालसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.