Connect with us

राजनीति

प्रधानमन्त्री कार्कीद्वारा कांग्रेस महामन्त्रीद्धय थापा र शर्मासँग छलफल

Published

on

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल, सञ्चारकर्मीलगायतसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै मेसोमा आज शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । करिब एक घण्टा महामन्त्रीद्वयसँग २१ फागुनमा तोकिएको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भएता पनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय गर्छौँ। नेकपा (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलसँग पनि तुरुन्तै गहन संवाद गर्न प्रधानमन्त्री कार्कीलाई सुझाव दिएका थिए । जेनजीलगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले के के निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीरुले राखेका थिए ।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी थिइन । एमाले नेताहरुले आज पार्टीको बैठक भएकाले अर्को दिन भेट्ने जानकारी बालुवाटारलाई दिएका थिए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन ।

प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.