Connect with us

Uncategorized

बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन

Published

on

नेपाली कांग्रेसका नेता आनन्द विष्टले जन्मदिनको अवसरमा बेसहारा महिला र अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन्।

कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले कैलालीको गोदावरी नगरपालिका-२ स्थित बेसहारा महिला र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था श्री महिला तथा बालबालिका सेभ हाउसलाई ‘कमला दान स्मृति अक्षय कोष’ मार्फत  ५१ हजार प्रदान गरेका हुन्।

‘जन्मदिन खर्चिलो र तडकभडकपूर्ण गर्ने संस्कारको विकास भइरहेको छ। त्यो राम्रो होइन। भड्किलो जन्मदिन मनाउनु भन्दा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्नु बुद्धिमता हुन्छ’, विष्टले भने।

उनले संस्थाको बारेमा सुनेका थिए। तर, यसपटक जन्मदिनको अवसर पारेर विष्टले संस्थामै पुगेर सहयोग गरेका छन्। ‘जानकी मलासी नेतृत्वको संस्था ४२ जना बेसहारा बालबालिका र केही बेसहारा महिलाको आश्रय स्थल रहेछ। उहाँहरूको मानवसेवा निकै प्रशंसनीय छ,’ विष्टले भने।

उनले संस्थाको पवित्र उद्देश्यलाई समाजका सबै तह र तप्काबाट सहयोग गरिनुपर्ने विषय औंल्याएका छन्। ‘फाउन्डेसन नभएको भए ती महिला र बालबालिकाको अवस्था कस्तो हुँदो हो, हामी सहजै अनुमान गर्न सक्छौं। त्यसैले यस्तो पवित्र कर्ममा हामी सबैको सहयोग हुनुपर्छ,’ रकम हस्तान्तरण गर्दै विष्टले भने।

बालबालिकाको मनोबल बढाउने काममा लागेकोमा उनले संस्थाप्रति आभार व्यक्त गर्दै अन्य व्यक्ति र क्षेत्रसँग पनि सहयोगका लागि पहल गर्ने वचनबद्धता दिएका छन्।

यस्तै संस्थाकी अध्यक्ष मलासीले विष्टको सहयोगले आफूहरूलाई ठूलो प्रेरणा प्रदान गरेको बताएकी थिइन्। ‘यो सहयोग हाम्रा लागि ठूलो प्रेरणा हो। समाजका प्रभुत्व व्यक्तिहरूबाट यसरी सहयोग प्राप्त हुँदा अन्य व्यक्तिलाई पनि प्रेरणा मिल्छ। यो हाम्रा लागि ठूलो सहयोग हो,’ उनले भनिन्।

कार्यक्रममा नेपाली कांग्रेस डोटीका पूर्वसभापति प्रदीप देउवा, शिखर नगरपालिकाका पूर्वमेयर सिताराम जोशी, नेपाली कांग्रेस डोटीका पूर्वजिल्ला उपसभापति दीपक विष्ट, नेता लिलाधर विष्ट, नेपाल उद्योग वाणिज्य महासंघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझालगायत सहभागी थिए।

विष्टले केही दिन पहिले मात्रै ‘कमला दान स्मृति अक्षय कोष’ मार्फत नै डोटीको जोरायल गाउँपालिकास्थित सुगम बाल आधारभूत विद्यालयलाई ५१ हजार प्रदान गरेका थिए। उनले अक्षय कोष स्थापना गरी त्यसको रकमबाट गरिब एवं जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त रकम प्रदान गरेका थिए।

यसका साथै विष्टले वर्षौंदेखि शिक्षा, स्वास्थ्यलगायत समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। उनले स्वर्गीय माता-पिताको नाममा उक्त रकम प्रदान गरेका थिए।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.