Connect with us

राजनीति

प्रेस चौतारीको महाधिवेशन आजबाट, अध्यक्षमा राई र पाण्डेबीच प्रतिस्पर्धा

Published

on

नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आज दिउँसो प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनको लागि संगठनका अतिथिहरू, पदाधिकारी र अधिकांश प्रतिनिधिहरू विराटनगर पुगिसकेका छन् । संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्य र प्रतिनिधिहरूलाई खाना तथा आवासको व्यवस्था गरेको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिए ।

महाधिवेशनको लागि सबै तयारी पुरा भएको कार्यक्रमको तयारीमा जुटेका सचिव विक्रम लुइँटेलले जानकारी दिए । ‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखि कै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भने ।

प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् । उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए ।

‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.