राजनीति
एमाले पदाधिकारीमा महिला र युवापुस्ताका दर्जनौँ आकांक्षी
Published
4 months agoon
By
Nepal Muhar
पदाधिकारी र केन्द्रीय सदस्य थप्न विधान संशोधनको गृहकार्य
वरिष्ठ उपाध्यक्षको पद पुनस् ब्युँताउने, उपाध्यक्ष र सचिवको संख्या सात–सात राखेर पुरानै १९ सदस्यीय पदाधिकारी पुर्याउने, अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटी ३०१ पुर्याउने र स्थायी समिति ४५ सदस्यीय राख्ने गरी तयारी
एमालेको ११औँ महाधिवेशनमा पदाधिकारी उम्मेदवारमा दर्जनौँ महिला नेतृ र युवा–विद्यार्थी पृष्ठभूमिका नेता आकांक्षी देखिएका छन् । खासगरी उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा महिला नेतृ र युवा–विद्यार्थी पृष्ठभूमिका नेता आकांक्षी छन् ।
प्रस्तावित विधानमा १५ सदस्यीय पदाधिकारी छ । यस्तोमा अध्यक्षका प्रत्याशी केपी ओली र ईश्वर पोखरेललाई पदाधिकारीमा महिला नेतृ र युवा–विद्यार्थी समेटेर टिम बनाउन सकस छ । तर, जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिका कारण युवा–विद्यार्थी पृष्ठभूमिका कोही न कोही समेटेर टिम निर्माण गर्नैपर्ने दबाबमा उनीहरू छन् ।
ओली र पोखरेल दुवै समूहले औपचारिक केही नबताएकाले आकांक्षीले उम्मेदवारीबारे सामान्य चर्चा गर्नेबाहेक घोषणा गर्न सकेका छैनन् । तर, औपचारिक–अनौपचारिक संवादमा कैयौँ महिला नेतृ र युवा–विद्यार्थी पृष्ठभूमिका नेताले आफ्नो आकांक्षा व्यक्त गरेका छन् ।
हाल १९ सदस्यीय पदाधिकारीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्यालले मात्र पदाधिकारीमा प्रतिनिधित्व गर्छन् । शाक्यले पुनस् उपाध्यक्षमै दोहोरिन खासै रुचि देखाएकी छैनन् । यद्यपि, उमेरहद सीमा हटिसकेकाले उनलाई पुनस् उपाध्यक्षमा दोहोरिनका लागि दबाब छ । शाक्यले बिदा लिएमा वरिष्ठ उपाध्यक्ष पोखरेल प्यानलबाट स्थायी समिति सदस्य विन्दा पाण्डे उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा छिन् । अन्यथा, उनी उपमहासचिवमा उठ्ने मनस्थितिमा छिन् । ‘अहिले प्रतिनिधिहरूसँग सल्लाहमै छु । सबैजसो प्रतिनिधिले एकभन्दा बढी पद रहेको उपाध्यक्ष या उपमहासचिवमध्ये एक पदमा मनोनयन दर्ता गराउन सुझाव दिइरहनुभएको छ,’ पाण्डेले नयाँ पत्रिकासँग भनिन्, ‘तर, अन्तिम निर्णय पार्टी नेता र प्रतिनिधिहरूसँग थप छलफलपछि मात्र लिनेछु ।’ अर्यालले पनि उपाध्यक्षको चाहना राखेकी छिन् ।
त्यस्तै, स्थायी समिति सदस्य थममाया थापा पनि पदाधिकारीकै दाबेदार हुन् । तर, नेताहरूसँग परामर्शपछि मात्र टुंगो लाग्ने उनको भनाइ छ । ‘स्थायी समितिमा बसिसकेको हुनाले मापदण्ड र योग्यता पदाधिकारीका लागि पुग्छ, त्यसैले पदाधिकारीमा जाने चाहना छ,’ उनले भनिन्, ‘तर, पार्टीभित्र सल्लाह नभइसकेकाले जे गर्ने अनुमति दिन्छ, त्यही गर्छु । एक कार्यकालबाहेक अरू चाहना छैन ।’
थापाले जस्तै अध्यक्ष ओलीनिकट अधिकांश नेतृ पदाधिकारी बन्ने चाहना भए पनि औपचारिक रूपमा खुल्ने पक्षमा कोही पनि देखिँदैनन् । शान्ता चौधरी, सुजिता शाक्य, ज्वालाकुमारी साह, मञ्जुकुमारी चौधरी, भगवती चौधरी, जुलीकुमारी महतो, लीलाकुमारी भण्डारी, सीता गिरी ओली, मनकुमारी जिसी, सुशीला नेपाल, निरुदेवी पालसहितका पोलिटब्युरो सदस्यहरू पदाधिकारीका स्वाभाविक दाबेदार मानिएका छन् । तर, उनीहरूमध्ये धेरै नेतृत्वसँग सल्लाह नभएको बताउँछन् ।
‘त्यस्तो केही महत्वाकांक्षा र आकांक्षा छैन । पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी सम्हाल्दै आएकी छु । जिम्मेवारी पूरा गरेपछि स्वाभाविक रूपमा पार्टीपंक्तिमा नेता–कार्यकर्ता दुवैको मूल्यांकन हुन्छ,’ शान्ता चौधरीले भनिन् । पूर्वकमलरी चौधरी एमाले वृत्तमा आत्मनिर्भर श्रम गर्ने महिला नेतृकी रूपमा चर्चित छिन् ।
उता मधेशबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले पनि पार्टीसँगको सल्लाहअनुसार अगाडि बढ्ने बताइन् । ‘पार्टीभित्र सल्लाह भइसकेको छैन, सल्लाहबाट जे योजना बन्छ, त्यसअनुसार अघि बढ्छु,’ उनले भनिन् ।
एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री पनि सचिव पदमा चर्चामा छिन् । उनले पनि आफ्नो कुनै पनि पदमा दाबी नरहने, तर पार्टी र टिमभित्रको छलफलबाट हुने निर्णयअनुसार अगाडि बढ्ने बताउँदै आएकी छिन् । संस्थापनबाटै केन्द्रीय कमिटी सदस्यहरू पूर्वमन्त्री भगवती न्यौपानेदेखि, सुनिता बराल, पार्वती रावल, पेम्बा लामा, मोहनमाया ढकालसम्मका नेतृको नाम पनि पदाधिकारीको चर्चामा छ । तर, उनीहरूमध्ये न्यौपानेको नाम बढी चर्चामा छ ।
यस्तै, पोखरेल–भण्डारी समूहबाट विद्या भट्टराई, गौरी ओली, रचना खड्का, सरिता न्यौपाने, उषाकिरण तिमल्सिना, शर्मिला कार्की, डा। विमला राई पौडेल, ममता गिरीलगायतको नाम पदाधिकारीको चर्चामा छ । उनीहरूमध्ये सबैले विन्दा पाण्डेलाई पहिलो सूचीमा राखेर टिमबाट पदाधिकारीमा अगाडि बढाएका छन् । बौद्धिक व्यक्तित्वका रूपमा पूर्वशिक्षामन्त्री भट्टराईको नाम पनि सचिवमै चर्चा भइरहेको छ ।
त्यस्तै, ४० वर्षमुनिको नयाँ पुस्ताबाट केन्द्रीय कमिटी सदस्य रहेकी खड्का पोखरेल प्यानलबाट सचिवको चर्चामा छिन् । नयाँ पुस्ताको भावना सम्बोधनका लागि पनि खड्काको नाममा पोखरेल प्यानलले छलफल गर्ने तयारी गरेको छ । त्यस्तै, पूर्वविद्यार्थी नेतृसमेत रहेकी न्यौपाने र तिमल्सिना तथा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहिसकेकी विमला राई पौडेलको सम्भावना पनि सचिवमै रहेको पोखरेलनिकट एक पदाधिकारीले बताए ।
पछिल्लो समय तटस्थ रहेर अन्ततस् अध्यक्ष ओलीतिर खुलेकी अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाको नाम पनि सचिवमै चर्चामा छ । उनले नेता र प्रतिनिधिहरूसँगको परामर्शविना उम्मेदवारी नदिने भन्दै तत्काल घोषणा नगर्ने बताएकी छिन् ।
युवा पृष्ठभूमिबाट राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतलाई जसरी पनि उपमहसचिव या सचिवमा समेट्नैपर्ने दबाबमा अध्यक्ष ओली छन् । उनलाई सचिवमै उठाउने तयारी रहेको ओलीनिकट एक पदाधिकारीले बताए । त्यस्तै, युवा विद्यार्थी संगठनमा पदाधिकारी बनेर काम गरेका अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई, ठाकुर गैरे, यज्ञराज सुनुवार, पदम गिरी, महेश बर्तौला, निरुदेवी पाल, माधव ढुंगेल, राजीव पहारी, रमेश पौडेल, डा। सुरेन्द्र मानन्धर, किरण पौडेललगायत युवापुस्ताका नेता पदाधिकारीमा चर्चामा छन् । तर, कसैले पनि अझै औपचारिक रूपमा उम्मेदवारी भने घोषणा गरेका छैनन् ।
पत्रकारिता पृष्ठभूमिका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा तथा अर्का पोलिटब्युरो सदस्य सूर्य थापाको नाम सचिवमा चर्चामा छ । बाँस्कोटाले आफूले सचिवमा उम्मेदवारी दिने जानकारी गराउँदै एघारौँ महाधिवेशनमा प्यानलमा नभएर व्यक्तिगत प्रतिस्पर्धाका आधारमा निर्वाचन हुनुपर्ने पक्षमा वकालत गरेका छन् । उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई बलियो बनाउने भएकाले जसले अध्यक्ष जिते पनि पार्टीलाई सबैलाई मिलाएर लैजाने सामथ्र्य नेतृत्वमा हुनुपर्ने बताएका छन् ।
उनीहरूमध्ये पोखरेल प्यानलले गैरेलाई सचिवमा समेट्ने बलियो सम्भावना छ । उनले सामूहिक नेतृत्व प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएका छन् । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा कुनै पनि प्यानलमा नपरेका गैरेले लोकप्रिय मत ल्याएर जितेदेखि नै उनी युवा नेताका रूपमा स्थापित छन् ।
यसपटक सकभर सचिवहरूमा नयाँ अनुहार नै समेट्नुपर्ने दबाबमा एमाले नेतृत्व छ । दुई कार्यकाल योगेश भट्टराई र गोकर्ण विष्ट सचिवमै दोहोरिएकाले पनि अहिलेको विधानमा प्रस्तावित सचिवमा विशेष गरेर नयाँ अनुहार ल्याउनैपर्ने एमालेभित्र व्यापक दबाब छ ।
त्यसो त विद्यार्थी पृष्ठभूमिकै नेता शेरधन राईदेखि विशाल भट्टराईले पनि सचिवमै आकांक्षा राखेका छन् । नयाँ अनुहारकै रूपमा खगराज अधिकारी, भानुभक्त ढकाल, डा। राजन भट्टराई, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल, यामलाल कँडेल, किरण गुरुङ, कृष्णगोपाल श्रेष्ठ, दामोदर भण्डारीलगायतको नाम पनि सचिवमै चर्चामा छ ।
संसदीय मामिलामा प्रमुख सचेतकको भूमिका निर्वाह गरिसकेका पदम गिरी र महेश बर्तौला दुवैजना सकेसम्म पदाधिकारीमा पर्ने दौडमा छन् । बर्तौलाले जिम्मेवारी पाए पार्टीलाई वैचारिक–सांगठनिक रूपमा माथि उठाउने आत्मविश्वास आफूमा रहेको बताए । ‘पार्टी नेतृत्व र प्रतिनिधिहरूले विश्वास गरेर पदाधिकारीको जिम्मेवारी दिँदा पार्टीको प्रतिष्ठा र सांगठनिक अवस्था माथि पुग्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,’ ४० वर्षे उमेर समूहभित्रै पर्ने उनले भने ।
डेब्युको तयारीमा रहेका यी हुन् चालिसमुनिका अनुहार
कतिपय युवा ४० वर्षमुनिको क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । एमालेले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउने तयारी पनि गरेको छ । प्रदेश र जिल्लामा ४० वर्षमुनिका युवाका लागि १० प्रतिशत कोटा छुट्याएकाले केन्द्रमा पनि त्यहीअनुसार छुट्याउन दबाब छ । १६५ निर्वाचन क्षेत्र, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष जिल्ला कमिटीसहित विभिन्न क्षेत्रबाट एमालेमा दुई सयभन्दा बढी प्रतिनिधि ४० वर्षमुनिबाट निर्वाचित भएर आएका छन् । १० प्रतिशतसम्म आरक्षण गरिएमा अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटीको विधानबाट २५ जनासम्म चुनिन सक्नेछन् । यसैका आधारमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ, अखिलका पूर्वअध्यक्ष समिक बडाल, अधिवक्ता राधिका खतिवडा, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुको महाधिवेशनमा झिनो मतान्तरमा पराजित भए पनि महाधिवेशन प्रतिनिधि बनेर आएका प्रकाश पौडेल डेब्युको तयारीमा छन् ।
पदाधिकारी र केन्द्रीय सदस्य थप्न विधान संशोधनको गृहकार्य
एमालेले पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षीहरूको दबाब थेग्न नसकेपछि पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधन गर्ने तयारी गरेको छ । शुक्रबार बोलाइएको सचिवालय बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी संशोधनको प्रस्ताव राख्ने तयारी भइरहेको एक पदाधिकारीले बताए । जसअनुसार वरिष्ठ उपाध्यक्षको पद पुनस् ब्युँताउने, उपाध्यक्ष र सचिवको संख्या सात–सात राखेर पुरानै १९ सदस्यीय पदाधिकारी पुर्याउने, अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटी ३०१ पुर्याउने र स्थायी समिति ४५ सदस्यीय राख्ने गरी तयारी भएको छ ।
सल्लाघारीमा यसरी सजाइँदै छ एमाले महाधिवेशन उद्घाटनस्थल
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि हुँदै छ । उद्घाटन कार्यक्रमका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलगायतका संरचना धमाधम सजाइँदै छन् । मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठका अनुसार एकैपटक ४५० अतिथि अट्ने गरी मञ्चलाई चार भागमा विभाजन गरिएको छ । पूर्वबाट पश्चिमतर्फ फर्किएको मञ्चको दायाँबायाँ केन्द्रीय पदाधिकारी, सदस्य र सल्लाहकार मञ्चका सदस्य बस्नेछन् ।
बिच भागमा चाँगुनारायण मन्दिरको प्रतिमा राखिएको छ । नजिकै पोडियम रहनेछ । त्यसको तल भिभिआइपी र भिआइपी पाहुना बस्ने व्यवस्था गरिँदै छ । कलाकारको प्रस्तुतिका लागि छेउमै अर्को मञ्च तयार गरिँदै छ । १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा पाँच लाखसम्म सहभागीले सुन्न सक्ने अत्याधुनिक १०७ वटा स्पिकर राखिनेछन् । मञ्चको दायाँबायाँ दुईवटा मेघा स्क्रिन राखिनेछन् ।
‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायतका साथीहरूको चाहना एउटै देखिन्छ’
एमाले अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्ति गलत र नियतपूर्ण रहेको भन्दै प्रतिवाद गरेका छन् । ११औँ महाधिवेशन तयारी सन्दर्भमा बिहीबार सम्पादकहरूसँग अन्तरक्रिया गरेका ओलीले प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैको मनसाय एउटै देखिएको भन्दै प्रतिवाद गरेका हुन् ।
‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्षलगायतका साथीहरूको चाहना एउटै देखिन्छ,’ ओलीले भने, ‘उहाँहरूको गुट किन यति जिद्दीमा लागेको छ, त्यो बुझ्न सकेको छैन । त्यो नगरेर पोलिटिक्स गरेको भए राम्रो हुन्थ्यो ।’ आसन्न महाधिवेशनमा ओली र पोखरेल अध्यक्षका लागि भिड्दै छन् ।
ओलीले बयान दिन जाने–नजाने विषय व्यक्तिगत र कानुनी भएको भन्दै त्यसबारे अरूले टिप्पणी गरिरहनु आवश्यक नरहेको धारणा राखे । ‘बयान दिने कि नदिने मेरो कुरा होला । के कानुनी व्यवस्था छ, त्यस सम्बन्धमा मैले पनि हेरेको हुँला नि, त्यसबापत कुनै सजाय भोग्नुपर्छ, केही गर्नुपर्छ भने मैले गर्छु होला नि,’ ओलीले भने ।
हिजो बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले जाँचबुझ आयोगमा बयान दिन जानु उपयुक्त हुने धारणा राखेका थिए । ‘सरकारले बनाएको आयोगमा हाम्रा कतिपय रिजर्भेसेन छन् होला । तर, आयोगले बोलाउनु स्वाभाविक छ । मचाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन,’ पोखरेलको भनाइ थियो ।
उनले विरोधीले जति खेद्यो उति नै आफू बलियो र शक्तिशाली बन्ने जिकिरसमेत गरे । ‘म हावा भरिएको भकुन्डोजस्तो हुँ, जति जोडले पछार्छन्, उति माथि पुग्छु,’ उनले भने, ‘छुद्र व्यवहार र वैरभावपूर्ण कदमले राजनीति स्वस्थ हुँदैन । सबै स्वस्थ ढंगले चल्नु नै वाञ्छनीय हुन्छ ।
यस्तै, ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिहरूले चुनेमा आफू अध्यक्षमा पुनस् रहन सक्ने बताए । तर, कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने ओलीले स्पष्ट गरे । त्यस्तै, बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष पोखरेललगायतका नेतालाई उनले आग्रह पनि गरे । पोखरेलले ओलीबाहेक अरूमा सर्वसम्मति हुन सक्ने बताएको अर्को दिन ओलीले आफ्नो धारणा राखेका हुन् ।
अर्को प्रश्नको जवाफमा उनले संसद् पुर्नस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको र त्यसको परिणाम क्रमशस् आउने बताए । तर, कस्तो परिणाम आउँछ भन्ने विषय उनले खुलाएनन् ।
जेन–जी आन्दोलनका वेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले आफूलाई भगौडा प्रधानमन्त्री भनिएकामा गम्भीर आपत्ति जनाए । बालुवाटारबाट हेलिकोप्टरमा बाहिरिएका ओलीले धेरै क्षति नहोस् भनेर बुद्धिमतापूर्वक मुकाम सरेको दाबी गरे ।
‘कौरवहरूले दुर्योधन, सकुनी र दुस्शासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोजेका थिए । दुर्योधनका प्रेतहरू अहिले पनि रहेछन् । पाण्डवहरू भागेर बाँचे । एकातिरबाट आगो लगाए, पाण्डवहरू अर्कातिरबाट भागे,’ ओलीले भने, ‘पाण्डवहरू भागेकै हुन् । तर, काँतर भएर होइन, बुद्धि पुर्याएर भागे । ‘म जल्छु, तर भाग्दिनँ’ भनेको भए जल्थेँ । जल्नु हुँदैनथ्यो ।’
आत्मरक्षाका लागि सुरक्षाकर्मीले कदम चाल्दा आन्दोलनकारी घाइते हुने अवस्था आउने भएकाले आफूले बुद्धिमतापूर्वक मुकाम सर्ने निर्णय लिएको उनको जिकिर थियो । ‘हो, मैले ९बालुवाटार० नछोड्न सक्थेँ । तर, के–के खुवाएर ल्याएको छ, आक्रमण गर्न आउँछन् । आत्मरक्षाका लागि प्रहार गर्दा क्याजल्टी हुने भो । क्याजल्टी हुनुभन्दा वल्लो घरबाट पल्लो घर सर्दा राम्रो होइन रु’ ओलीले भने, ‘कहिलेकाहीँ बच्चाबच्चीले खेदे भने आफू कुद्नुपर्छ । अनि डरायो, भाग्यो।।। भनेर खुसी हुन्छन् । त्यस्तै हो । उनीहरू ९आन्दोलनकारी०को ज्यान बचाउन मैले मुकाम परिवर्तन गरेको हुँ ।’
केयरटेकर प्रधानमन्त्री चलाइरहेको व्यक्ति कसरी भागेको हुन्छ भनेर ओलीले प्रश्न उठाए । ‘मेराअगाडि एउटा परिस्थिति आयो । मैले राजीनामा गरेँ । तर, म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर हुन्छ रु भागेको मान्छे प्रधानमन्त्री रहन्छ रु’ ओलीले भने, ‘म त प्रधानमन्त्री नै थिएँ । मैले राष्ट्रपतिलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गरेको छु । म बसेको ठाउँमा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिबिच मेरो कुराकानी भयो । त्यो भाग्या भयो रु’ डेराको बन्दोबस्ती भएपछि पूर्वसूचना सार्वजनिक गरेर सेनाको ब्यारेकबाट आफू गुन्डु फर्किएको ओलीको भनाइ थियो ।
‘जेन–जीसँगको सम्झौता कलाविहीन नाटक’ वर्तमान सरकार ‘नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसेको नाग’जस्तै
नेपाल सरकार र जेन–जी पक्षबिच बुधबार भएको सम्झौताबारे ओलीले कडा प्रतिक्रिया जनाउँदै त्यसलाई ‘कलाविहीन नाटक’को संज्ञा दिएका छन् । जनादेशविनाको सरकारले यस्ता निर्णय गर्ने म्यान्डेट नराखेको भन्दै उनले वर्तमान सरकारलाई ‘नागपञ्चमीमा घरमा कसैले गोबरले टाँसेको नाग’जस्तै भएको टिप्पणी गरे । ‘विघटित संसद्लाई जनसमर्थन गुमाएको संसद् भनेर सम्झौतामा भनिएको छ । त्यो यथार्थ होइन । असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाले परिस्थितिलाई विध्वंसका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन् । त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन,’ उनले भने, ‘यो देशमा पुराना र ठुला राजनीतिक दलहरू सक्रिय छन् । आगामी २१ फागुनपछि पनि नेपालको समय छ भन्ने सरकारले बुझ्नुपर्छ । त्यस कुरालाई हेक्का राखेर काम गर्न आग्रह गर्दछु ।’ ओलीले कार्की नेतृत्वको अन्तरिम सरकारको संवैधानिक हैसियतमाथि लगातार प्रश्न उठाइरहेका छन् ।
शुरोजंग पाण्डे/नयाँ पत्रिका
