Connect with us

तथ्य खोज

एकै पटकको भेटमै दिमागमा पकड जमाएको निर्भिक पत्रकार श्यामसुन्दर पुडासैनी

Published

on

पुसको चिसो, त्यसमाथि शनिबार । आज बिहान म ६.४० तिर मात्र उठे । खेती नै समाचारको, त्यही समाचार, सूचनाको स्रोत, ‘स्कुप’ नै एकहदसम्म सामाजिक सञ्जाल बनिसकेको छ । त्यससँगै अलिअलि लत पनि लागिसकेकोले उठे लगत्तै सामाजिक सञ्जाल फेसबुक खोले, मोबाइललाई यसो के ‘स्क्रोल’ गर्दै थिएँ, ६.४३ मा पत्रकार मित्र दिपेन्द्र कुँवरको ‘वाल’ हाम्फालेर आयो, जहाँ उहाँले पत्रकार श्यामसुन्दर पुडासैनीको तस्विर राखेर लेख्नु भएको थियो,

“जिन्दगी आज छ, भोलि छैन । प्रिय पत्रकार भाइ श्यामसुन्दर पुडासैनी हामीबिच नरहेको अप्रत्याशित खबर पत्याउनै गा¥हो भैरहेको छ । समय कति क्रुर ! एक निडर पत्रकार हामीबाट विदा भए । शायद समयको क्रुर चक्रसँगै यसरीनै होला सबै छुट्ने, छुट्टिने । हार्दिक श्रद्धाञ्जलि प्रिय श्याम । परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । 😭”

मथिंगल थर्र काम्यो । मथिंगल नै कामेपछि शरीर, हात समेत काम्नु स्वभाविकै हो । प्राय हामी पत्रकारहरुमा अलिअलि नै सही, संशय गर्ने स्वभाव हुन्छ, हुनु पनि पर्छ । विज्ञानकै नियम हो, ‘जहाँ विस्वास, त्यहाँ शंका, जहाँ शंका, त्यहीँ विस्वास ।’ अर्को अर्थमा भन्ने हो भने मन अलिअलि नै सही, शंकालु र अपराधिक पनि हुन्छ के रे ? त्यसको बनावटमै संशयको भार बढी हुन्छ कि !

दिपेन्द्रजीले के लेख्नु भयो ? मानसपटलमा झट्ट झड्का हान्यो, संशयले । सँगै ज्ञानेन्द्रियमा दिपेन्द्रजीको गम्भीर र शान्त स्वभाव नाच्यो, ‘दिपेन्द्रजी मृत्यु जस्तो गम्भीर सवाललाई ठट्टामा लेख्ने पात्र हुँदै होइन ।’ त्यसमाथि प्रायश मृत्यु अप्रत्यासित नै हुन्छ । उहाँको स्टाटस् पढिनसक्दै ‘म्यासेन्जर कल डायल’ गरें । ‘कल’ उठेन ।

हात कामिरहेकै अवस्थामा मोबाइल ‘स्क्रोल’ भएछ । रेडियो नेपालकर्मी मित्र यशोदा अधिकारीको स्टाटस् देखियो । उहाँले दिपेन्द्र कुँवरभन्दा अझ् ११ मिनेट पहिले ६.३२ मै लेखिसक्नु भएको रहेछ,

“निडर इमानदार र साहसिक पत्रकार भाइ क्जथबm क्गलमबच एगमबकबष्लष् को मध्येरातमा हृदयघातका कारण निधन भएको खबरले स्तब्ध बनायो ! आखिर के रहेछ र जिन्दगी !!
हार्दिक श्रद्धाञ्जलि भाइ”

कुँवर र अधिकारी दुई स्थापित पत्रकारले लेखिसकेपछि पत्याउने इच्छा नभएर भयो र ! आधा घण्टा पछि दिपेन्द्र कुँवरले ‘कल’ फर्काउँनु भयो । त्यसबेलासम्म म पुडासैनीको भौतिक शरीर नरहेकोमा निश्चिन्त भइसकेको थिएँ ।

मेरो मानसपटलमा घुमेका पुडासैनी

पुडासैनीको आकस्मिक निधनको जानकारीपछि मेरो मानसपटलमा उनी रोटेपिङ झैं फनफनी घुम्न थाले । जोसँग मेरो भौतिक भेट एक पटक मात्र भएको थियो । त्यही एक भेटले उनी मेरो दिमागमा एक सय ‘भोल्ट’ बढीको विद्युत प्रवाह गर्न काफी भएका थिए । भनिन्छ नि, केही क्षणकै सही, सत्कार्य चिरस्मरणीय हुन्छ ।’ एकाध घण्टाको भौतिक भेट नै उनी मेरो खोपडीको ‘सेप’ मा चिरस्मरणीय भएर बसेका थिए ।

पाठकहरुलाई जानकारी गराउँ, पुडासैनी र मेरो भेट नेपालमुहार डटकम (Nepal Muhar – News) लाई थप शसक्त बनाएर अघि बनाउनु पर्छ भन्ने सन्र्दभमा भएको थियो । झण्डै डेड वर्ष अघि हुनुपर्छ, मैंले पत्रकार मित्र धीरज देवकोटालाई नेपालमुहारमा आवद्ध हुन आग्रह गरेको थिएँ । उहाँले आफ्नो बाध्यता सुनाउँदै मेरो उद्देश्य अनुसारको पात्रका लागि पुडासैनीको नाम प्रस्तावित गर्नुभयो । र उहाँले नै मोबाइल नम्वर समेत दिनु भयो ।

जसै मैंले पुडासैनीलाई मोबाइल गरेर आफ्नो परिचय दिएँ, उहाँले मेरो ‘स्टोरी’ हरु पढिसकेको जानकारी दिँदै मेरो नामसँग राम्रै परिचित भएको बताउनु भयो । अपवाद बाहेक अधिकांश मान्छेको स्वभाव नै हो, आलोचनामाभन्दा बढी प्रशंसामा मुग्ध हुन्छ । पुडासैनीले ‘हुन्छ नि दाजु भेटौ, तपाईंसँग काम गर्न पाउनु मेरा लागि भाग्य हो’ भनेपछि आफूलाई मसक्क मस्काएर मैंले एकछिन धर्ती छोड्दै प्रतिउत्तर दिएँ, ‘मलाई यति धेरै फुर्क्याँई दिनु भएकोमा धन्यवाद । तर, हामी खोजी कर्ममा विस्वास गर्नेहरुले तपाईँसँग काम गर्न पाउनु मेरो ‘भाग्य’ भनेर मलाई यहाँभन्दा बढी हरियो घाँस नखुवाउनुहोस् है । म फुर्किएर धर्ती नै छाडौला ।’


मोबाइल सम्पर्कको भोलिपल्ट उहाँ आफ्नो बासस्थान चाबहिलबाट रुँइकिएर नेपालमुहार (Nepal Muhar – News) को कार्यालय गठ्ठाघर, भक्तपुर आउनु भयो । हामी एकाध घण्टा नेपालमुहारकै कार्यालयमा एक अर्कालाई बुझ्न, बुझाउन लाग्यौं । उहाँ नेपालमुहारमा काम गर्न सहमत हुनु भयो साथै नेपालभ्युजमै फर्कने संभावना पनि उत्तिकै रहेको बताउनु भयो ।

तर, यहाँ मेरै कमजोरी रह्यो । मैंले नेपालमुहारलाई सहयोग गर्छु भन्नेहरुको पाउ त ढोगेको थिएँ । तर, उहाँहरुको पैताला पटक–पटक चाट्न मेरो ‘मुर्ख’ स्वाभिमानले स्वीकार गरेन । ज्ञात भएकै कुरा हो, सञ्चार माध्यम सञ्चालनका लागि विज्ञापन जरुरी हुन्छ । पछिल्ला वर्षहरुमा त्यो विज्ञापनका लागि ‘बार्गेनिङ’, धम्की, हात-हातको स्वार्थ लेनादेना, ज्याद्रो, लाजघिन सबै पचाएर निगुरमुन्टी न लगायतको सम्झौता त गर्नुपर्छ नै, अपवाद बाहेक अधिकाशं विज्ञापनदाताहरुलाई पाउँ ढोगेर मात्र पुग्दैन, पटक–पटक पैताला चाट्नु पर्छ, नकि उहाँहरुसँग कहिल्यै आँखा जुधाएर बोल्ने सामथ्र्य राख्न नसकियोस् । मैंले पैताला चाटिरहन सकिन । म असक्षम दहरिए । पुडासैनी नेपालभ्युजमै पुनः आवद्ध हुनुभयो ।

तर, उहाँ र मेरो सम्पर्क त्यसपछि पो झन् सघन बन्यो । अँ यहाँ एउटा कुरा स्मरण गराउँ, म अलि ठड्यौलो र एकलकाँठे स्वभावकै छु । त्यसैले ४७ वर्षको जीवन बाँच्दा र २० वर्ष बढी पत्रकारितामा बिताउँदासम्म मसँग ‘कोर’ मित्र पाँच/सात जना पनि छैनन् । मलाई थाहा छ, पाइला–पाइलामा स्वार्थको लेनदेन हुने यो समयमा ठड्यौलो हुनु सबभन्दा ठूलो अभिशाप हो । धरातलीय यथार्थ र असल मनसायलाई समेत गलत ब्याख्या गरिने यो समय म र मजस्ता ‘ठड्यौला’ हरुलाई रेट्नै पो आएको हो कि !

तर के गर्नु ! ‘बाइबर्थ नेचर’ वा समाजका केही बेइमान ‘ठालु’ हरुले गरेको दमन, अपमान, आत्मा स्वाभिमानमाथिको चोट विरुद्ध प्रतिरोध गर्नेक्रममा विकसित स्वभावलाई मैंले ‘जता मल्खु उत्तै ढल्कु’ बनाउनै सकिनँ । तसर्थ मेरो स्वभाव जो कोहीलाई पच्ने कुरै हुँदैन ।

म अलिकति बहकिए के रे ! अब फेरि लयमै आउँछु ल । एकातिर सँगै काम गर्न नसकेको पीडा अर्कातिर आफ्नो स्वभावका कारण मैंले पुडासैनीलाई खासै फोन गर्दिनथे । कोहीसँग पनि निरन्तर सम्पर्कमा बसिरहन नसक्ने मेरो कमजोरी छ । तर, उहाँले मलाई प्राइम टिमीको श्रम ठगी विरुद्ध अदालतमा मुद्दा लडिरहेको, मुद्दा जितेको तर फैसला कार्यान्वयन नगरेको, पछि फैसला कार्यान्वयन गर्न बाध्य भएको, फेरि काम गर्न बोलाएको लगायत जानकारी दिँदै सुझाव त माग्नु हुन्थ्यो नै, नेपालभ्युजका सामग्रीमाथि प्रतिक्रिया दिन पनि सुझाउनु हुन्थ्यो । यति मात्र होइन, मेरो ‘प्रतिभा’ खेरा गएको भन्दै उहाँ मप्रति ‘चिन्ता’ गर्नुहुन्थ्यो । तर, मेरो के प्रतिभा छ र खेरा गयो ? मैंले उहाँलाई कहिल्यै सोधिन, त्यो सुझाव लिन नपाएकोमा मलाई आज आफैंप्रति कुरीकुरी लागिरहेको छ ।

हिजो दिउँसो २ बजेर एक मिनेटमा पुडासैनीले मानवीय संवेदनासँग जोडिएको एउटा गम्भीर स्टाटस् लेख्नु भएको रहेछ,

“रास्वपा भन्ने समूहमा लागेपछि मान्छेले सामाजिक मूल्यमान्यता बिर्सिन्छ हो ?
नत्र एकजना चर्चित पूर्वबैंकरले आफ्नै आमाको शवलाई दागबत्ती दिएको, शव जलाएको, सेतो कपडामा चितालाई ढोगेको भिडिओ पोजपोजमा खिचेर व्याकराउण्ड म्युजिक राखेर एडिट गरेर कसरी फेसबुकमा राख्न सकेका ?
संवेदनशील क्षण र व्यक्तिगत पीडालाई फिल्मी स्टाइलमा प्रचार गर्नु आवश्यकता थियो र ?’


राति आठ बजेतिर रक्षा मन्त्री मानवीर राईको सरकारी निवास भैंसेपाटीमा मोबाइल स्क्रोल गर्दा मैंले छुस्स त्यो स्टाटस् देखे, विस्वास भन्ने चिज त्यस्तो हुँदो रहेछ, पुडासैनीले लेखेको पक्कै ठिकै छ भन्ने लागेर सबै पढ्न पनि नभ्याई ‘लाइक’ ठोकिदिए । तर, उहाँको भौतिक शरीर र विवेकले लेखेको त्यही स्टाटस् नै हाम्रा लागि अन्तिम भयो ।

२९ डिसेम्बर २०२४ अर्थात अस्ति १४ पुस मध्यान्ह १२.१२ मा मैंले मेरो फेसबुक भित्तामा ‘AICHATGPT(एआई च्याटजिपिटी) लाई आफ्नै बारे ६ प्रश्न र उसको उत्तर । आफैंप्रति निर्मम आत्मसमीक्षा गर्न नसक्ने वा हिच्किचाउने व्यक्तिले अरुप्रति पनि खबरदारी गर्न सक्तैन’ स्टाटस् पोष्ट गरेको थिएँ । उहाँले ‘सही र सत्य कुरा बताएछ AIले’ भनेर प्रतिक्रिया दिनु भएको थियो, जुन त्यस स्टाटस्को एक मात्र प्रतिक्रिया हो ।

Facebook

मैंले पुडासैनीलाई यो भन्दा बढी ‘मिस’ चाहिँ उहाँको पटक–पटकको आग्रह अनुसार ‘बनभोज’ मा जान नसकेकोमा गरिरहने छु । २० मंसिर ०८१ को बिहान १०.७ मा उहाँले मलाई म्यासेन्जरमा लेख्नु भएको थियो,
”लागौं दाजु
हजुरकै घर अघिबाट बाटो काटेर कसरी जानु हामी । हजुरलाई छोडेर 😊”

म उहाँहरुसँग बनभोज जान सकिनँ । विडम्बना ! पुडासैनीले नै पो हामीलाई भौतिक रुपमा छाडेर जानु भयो । १२ र १७ मंसिरमा मलाई उहाँले बनभोज जान आग्रह गर्दै दुई वटा एसएमएस पठाउनु भएको थियो । जसलाई र्मैंले स्वीकार गर्न नसकेकोमा उहाँको भौतिक शरीर समक्ष पश्चाताप गर्ने कुनै शब्द नै रहेनन् ।

११ मंसिर ०८१ बिहान ९.२५ मा पुडासैनीले मेरो म्यासेन्जरमा मैंले १० वर्ष अघि २७ पुस २०७१ मा नेपाल म्यागेजिनमा लेखेको ‘रगतमा कालो धन्दा ‘ स्टोरीको लिंक पठाउँदै लेख्नु भएको थियो,
“खतरनाक लाग्यो दाजु यो ।”

हेर्नुहोस् मेरो त्यसबेलाको स्टोरीको लिंक रगतमा कालो धन्दा

जुन ‘स्टोरी’ म आफैंले समेत भुलिसकेको थिएँ । मेरो त्यो स्टोरी उहाँले नै पो स्मरण गराईदिनु भएको थियो । तर, खतरनाक घण्टीले त प्यारो मित्र श्यामसुन्दर पुडासैनीलाई पो पछ्याईरहेको छ ।

पत्रकारिता आफैंमा ‘वाइड एक्सेस, वाइड कनेक्सन’ को पेसा हो । यद्यपि मैंले पुडासैनीको मृत्युपछि पो थाहा पाएँ, ओ हो, उहाँको सम्बन्ध, सम्पर्क कति धेरै वाइड (फराकिलो) रहेछ । पुडासैनीभन्दा करिब दोब्बर समय पत्रकारितामा बिताए पनि मेरो ‘एक्सेस’ उहाँको जस्तो फराकिलो छैन । पुडासैनीको मृत्युपछि मलाई मेरो घनत्व थाहा भयो, उनको अघि म ‘लिलिपुट’ छु ।

हो, हुन पनि कतिपय पत्रकारकै शब्दमा म ‘निफुल्किएको पात्र हुँ । जो भनो उहीसँग नमिल्ने, जहाँ भन्यो त्यहीँ नजाने, अलि बढी नै स्वच्छ र आर्दश समाजको खोजी गर्ने, अपारदर्शिता, भ्रष्टाचार विरुद्ध चुपचाप नै सही, केही ‘रिसर्च’ गर्ने, मन लागे प्रकाशित गर्ने, नलागे ल्यापटपमै सुताएर राख्ने । भलै मलाई त्यसैमा गर्व छ ।

मेरो अहिलेसम्मको जीवन अनुभवले भन्छ, जो मान्छे अपारदर्शिता रुचाउँछ, जो मान्छे स्वेच्छाचारी एवम् निरंकुश चरित्रको छ, मुखले मित्रता देखाए पनि, लोकतन्त्र भने पनि व्यवहार षडयन्त्रात्मक, कुमेटी, कपटी, रकमी छ, त्यो मान्छे प्रश्नसँग डराउँछ । प्रश्नलाई निषेध गर्नु उसको पहिलो नियत र उद्देश्य हुन्छ । भक्तहरु मात्र रोज्छ, खोज्छ । प्रश्नसँग डराउने र प्रश्नलाई निषेध गर्न खोज्नेलाई थप प्रश्न गर्नु पत्रकारिताको जबरजस्त धर्म हो । तर, पछिल्लो समय यो धर्मबाट पत्रकार र पत्रकारिता कतै न कतै ओझेलमा परिरहेको छ ।

श्यामसुन्दर पुडासैनी त्यसको अपवाद थिए । पशुपतिमा एक महीने कोटीहोम लगाएर ‘ठगी महोत्सव’ चलाउने मानव सेवा फाउन्डेशनका प्रमुख विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिजी महाराजको ढोंगमाथि ‘फिल्ड’ मै पुगेर गत साउन ३२ मा पुडासैनीले प्रश्न गरेका थिए । जसवापत ठगी महोत्सव पक्षधरहरुबाट उनी झण्डै मारिएका थिए । त्यसदिन उनको भौतिक शरीर संयोगले मात्र बाँचेको थियो । घाइते अवस्थामा उनी त्यहाँबाट उम्कन सकेका थिए ।


पुडासैनीबाट मैंले सिकेको तथ्य के हो भने हर मान्छे जिज्ञासु र अभिलाषी हुनुपर्छ । तर, चरम महत्वकांक्षी हुनुहुँदैन । यद्यपि, अहिले व्याप्त विडम्बना यस्तो छ कि जिज्ञासु र अभिलाषी होइन, चरम महत्वकांक्षीहरुको भार दिन दुई गुणा, रात चौगुना बढ्दो छ । जिज्ञासु, अभिलाषी र चरम महत्वकांक्षीको भार छुट्याउनै कठिन पानी ढलो बन्दैछ । पुडासैनी जिज्ञासु र अभिलाषी अवश्य थिए । तर, चरम महत्वकांक्षी थिएनन् ।

नाम, गुमनाम, बदनाम,
कुन जीवन बाँच्ने ? सार्थकहरुले गुमनाम, बदनामको होइन, नामको जीवन बाँच्छन् । पत्रकार पुडासैनीले छोटो, मात्र ३३ वर्षसम्मको जीवन बाँचे । तर, नामको जीवन बाँचे । सार्थक जीवन बाँचे । वेथिति, विकृति, विसंगति, अपारदर्शिता, भ्रष्ट र भ्रष्टाचारी पात्र र प्रवृति विरुद्ध रत्तिभर शिर नझुकाई प्रश्न गर्ने जीवन बाँचे ।

अभिलेखमा पढ्न पाइए अनुसार नेपालको पहिलो पत्रकार, साहित्य शिल्पी मोतिराम भट्ट पनि कहाँ लामो जीवन बाँचेका थिए र ? उनको भौतिक शरीर जम्मा तीस वर्ष (वि.सं. १९२३ भदौ २५, कुशे औंसी– वि.सं. १९५३ भदौ, कुशे औंसी) न रह्यो । तर, मोतिराम भट्ट उनको कृति साधनाका कारण झण्डै एक सय ३० वर्षपछि पनि हामीबीच बाँचिरहेकै छन् । र अझै युगौँयुग बाँच्नेछन् । श्याम सुन्दर पुडासैनी पनि पत्रकारितामा विचलनहीन छवी र निडरताका कारण लामो युगसम्म बाँचिरहने छन् ।

शब्द श्रद्धान्जली प्रिय श्याम सुन्दर पुडासैनी

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.