तथ्य खोज
काठमाडौं स्कूल अफ ल र कार्यकारी निर्देशक युवराज संग्रौलामाथि योजनावद्ध आक्रमण
Published
1 month agoon
By
Nepal Muhar
योग्य व्यक्ति सृजनशील, साहसी त हुन्छ नै, पीडित पनि हुन्छ । अवश्य पनि प्रा. संग्रौला क्षमतावान, सृजनशील र साहसी त छन् नै, उनी पीडित पनि छन् अर्थात उनको अगुवाईबाट तर्सिएका ‘पीडक आत्मा’ हरुले संग्रौलालाई धेरै पटक पीडित बनाएका छन् ।
‘उन्नत इतिहास बोकेको यस संस्थाका विरुद्ध केही दिन अघिबाट समग्र संस्था र यसमा कार्यरत अधिकाशं शिक्षकहरुको मान मर्यादामा गम्भीर आँच पुग्ने गरी गलत प्रचार प्रसार गरिएको छ । विभिन्न खालका तथ्यहीन, सतही र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति तथा सामग्रीहरु सार्वजनिक गरिएको देखिएको छ । यस्तो अवस्थामा कलेज, यसका कार्यकारी निर्देशक र समग्र शिक्षकहरु विरुद्ध छरिएका अवान्छित लान्छनाहरुप्रति हाम्रो संस्थागत गम्भीर ध्यानाकर्षण भएकोले यो प्रेस नोट जारी गरिएको छ ।’
काठमाडौं स्कुल अफ ल ले हिजो ३ चैत्रमा पत्रकार सम्मेलन गरी वितरण गरेको ‘प्रेस नोट’ को अशं हो यो । काठमाडौं स्कुल अफ ल र त्यसका कार्यकारी निर्देशक प्राध्यापक युवराज संग्रौला (विद्यावारिधि) र त्यहाँ कार्यरत शिक्षकहरुमाथि नियोजित रुपमा योजनावद्ध आक्रमण भएको छ । । नेपाल र एसियामा मात्र होइन, विश्वभर नै प्रतिष्ठा कमाइरहेको एउटा अब्बल संस्था, त्यसका कार्यकारी निर्देशक, शिक्षक एवम् कतिपय विद्यार्थीहरुलाई समेत समूल घानमा मुछेर ‘बदनियत’ का साथ आक्रमण गरेको पाइएपछि धरातलीय यथार्थ जानकारी गराउन कलेजले पत्रकार सम्मेलन गरेको थियो ।
प्राध्यापक संग्रौला कानूनी शिक्षा र मानवअधिकारको उन्नयनमा सर्मपित नेपाल सरकारका पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता एवम् एक दर्जन बढी गहकिला पुस्तकका लेखक समेत हुन् । स्मरणीय छ, काठमाडौं स्कुल अफ ल नेपालमा पाँच वर्षे स्नातक तहको कानुन र मानवअधिकार लगायतका विभिन्न विधाका शैक्षिक कार्यक्रमहरुको सुरुवात गर्ने पूर्वाञ्चल विश्वविद्यालयअन्तरगतको पहिलो अगुवा संस्था हो ।
काठमाडौं स्कुल अफ लबाट गत महीना मात्र बिएलएलएलबी पाचौं वर्षको परीक्षा दिएकी सन्ध्या गौतम नामक छात्राले मार्च आठ २०२५ अर्थात २४ फागुन २०८१ को राति ११.२५ मा इन्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा प्रा. संग्रौलाले ‘मौखिक यौन दुर्व्यवहार’ गरेको आक्षेप लगाएकी थिइन । तर, त्यसको केही समय नबित्दै सिङ्गो संस्था, प्राध्यापक (शिक्षक) हरु र कतिपय विद्यार्थीहरु समेत दुर्व्यवहारमा संलग्न रहेको जिकिर गर्न सुरु गरिन ।
ती छात्राले सार्वजनिक गरेको त्यही सामग्रीलाई आधार बनाएर संस्था, कार्यकारी निर्देशक प्रा. संग्रौलालगायत माथि उछितो काढ्न थालियो । हिजो वितरित प्रेस नोटमा भनिएको छ, ‘तर गौतमले सामाजिक सञ्जालमा कलेज र शिक्षकहरु उपर गलत नियतले एकपक्षिय रुपमा लगाएका आक्षेपहरुलाई नै आधार बनाई कलेज र शिक्षकहरुको प्रतिष्ठामै आँच पु¥याउने गरी अतिरञ्जित गरेको पाइएको छ । तथापि गौतम स्वयम्ले सार्वजनिक गरेका निम्न मुख्य तथ्यहरुमाथि सञ्चार माध्यमले अलिकति पनि ध्यान दिएको पाइएन ।
एक– गौतमले इन्टाग्रामलगायत पोष्टमा ‘व्यक्तिगत रुपमा मलाई कसैले दुर्व्यवहार गरेको छैन, अरुको न्यायका लागि बोलिदिएको हुँ भन्ने उल्लेख गरेकी छन् । यसको सिधा अर्थ उनी आफैं पीडित होइनन् । आफू पीडित नै नभएको व्यक्तिले को व्यक्ति पीडित हो भन्ने कसैको नाम उल्लेख नगरी म अमुक व्यक्तिको प्रतिनिधि हुँ भन्दै सामाजिक सञ्जालमा मिथ्या तथ्य सार्वजनिक गरिनु सामाजिक मर्यादा तथा कानुन विरुद्ध हो ।
दुई– गौतमले सार्वजनिक गरेको पोष्टमै कार्यकारी निर्देशक प्रा.डा युवराज संग्रौला र संग्रौला परिवारसँग ५–५ लाखका दरले २० लाख रुपैयाँ माग गर्नु ।
तीन– सामाजिक सञ्जालमै आफ्ना बुवालाई गाली गर्दै हजुरबुवालाई समेत बलात्कारी भन्दै कलंकित गर्नु ।
चार– सभ्य मानवले भन्न र बोल्न नसक्ने अस्लिल शब्दहरु सार्वजनिक रुपमा बोल्नु ।
पाँच– सामाजिक सञ्जालबाटै मध्यराति संग्रौलाकी छोरी युगिच्छा संग्रौलाको नाम लिँदै ‘तलाईँ जलाएर मार्छु’ भन्दै आतंकित पार्नु ।
छ– सामाजिक सञ्जालमै केही व्यक्तिहरुको नाम लिँदै ‘तिमीले मलाई यो काम गर्न लगायौं । अहिले तिमीहरु आरामसँग बस्ने ? मैंले चाहिँ दुःख पाउनु पर्ने’ भावसहित बोल्नुले उनलाई अरु कसैले दुरुपयोग गरिरहेको खुल्छ ।’
हुन पनि कठोर सत्य यही हो कि धेरै जसो सञ्चार माध्यमले ती छात्रालाई मात्र विस्वास गरेर एकपक्षिय समाचार सम्प्रेषण गरेका थिए । अनि आफूलाई ‘अभियान्ता’ दाबी गर्नेहरुले त्यसलाई ‘भाइरल’ बनाएका थिए । काठमाडौं स्कुल अफ ल प्रशासनका अनुसार कलेजमा पढिरहदा ती छात्राले पटक–पटक आचार संहिता तथा अनुशासन उल्लंघन गरेकी थिइन । अनुशासनको दायरामा बस्न उनलाई केही पटक मौखिक निर्देशन दिनु परेको थियो । उनै छात्राले पाचौं वर्षको परीक्षा सकिए लगत्तै कार्यकारी निर्देशक संग्रौला र कलेज विरुद्ध संगीन लान्छना लगाएकी हुन् । Nepal Muhar – News ले ती छात्राको फेसबुक म्यासेन्जरमा ‘एसएमएस’ पठाएर संवाद गर्न खोज्दा उनी सम्पर्कमा आइनन् ।
रोचक के भने उनले आफूलाई व्यक्तिगत रुपमा दुर्व्यवहार नभएको बताएकी छन् । ‘अरुको न्यायका लागि बोलिदिएको हुँ’ भनेर दाबी गरेकी छन् । जब कि ती अरु को हुन् ? केही खुलाएकी छैनन् ।
पछिल्ला वर्षहरुमा स्वतन्त्रताका नाममा स्वच्छन्दता, लोकतन्त्रका नाममा क्षेत्रिय, लैङ्गिक, नश्लिय, भाषिक उच्चाहरणलगायत अधिकार खोज्ने, कुनै दुर्नियत नराखी बोलिएका शब्दहरुलाई समेत हिंसा, दुर्व्यवहार, विभेदको दर्जा दिने तर आफ्नो सामान्य कर्तव्य र जिम्मेवारी पुरा नगर्नेहरुको भीड बढिरहेको छ । त्यही भीडतन्त्रको सारथी बन्न पुगेकी ती छात्राले प्रा. संग्रौला र केएसएललाई योजनावद्ध रुपमा आफ्नो कुरुप निसानामा पारेको बताउँछन् जानकारहरु ।
“३७ वर्ष लामो शिक्षण पेसामा संग्रौलाले विद्यार्थीलाई व्यावहारिक उदाहरण दिएर बोलीचालीमा निर्दोष शिक्षकपन उच्चाहरण गरेका हुन्”, नेपाल कानून क्याम्पस प्रर्दशनीमार्गमा अध्यापनरत एक जना प्राध्यापक भन्छन्, “तर, दुष्टमतिका केहीले प्राध्यापक संग्रौलाको त्यही बोलीबचनलाई यौन दुर्व्यवहार, हिंसा, अश्लिलताको संगीन आरोप लगाएर आफ्नो कुण्ठा, कुत्सित योजना पुरा गर्न खोजेको देखिन्छ ।”
प्राध्यापकहरुले कक्षा कोठामा सामूहिक रुपमा दिएको उदाहरणलाई यौन दुर्व्यहार, हिंसा, अपमान, विभेद भनेर व्याख्या गर्न थाल्ने हो भने स्वास्थ्य तथा शारीरिक शिक्षा, विज्ञान, फौजदारी कानून लगायतका विषय पढाउन छाडे हुने ती प्राध्यापकको बुझाइ छ ।

‘दुध नै पिलाएर पालेको भए पनि भर्याङमुनी हुर्काएको सर्पले डस्छ, डस्छ’ भन्ने स्थापित लोक उखानलाई हुबहु व्यवहारमा उतार्दै ती छात्राले प्रा.डा. संग्रौला र केएसएलमाथि संगीन आक्षेप लगाएपछि कलेजले अनेकन कोणबाट अध्ययन–अनुसन्धान मात्र गरिरहेको छैन, जिल्ला अदालतका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराई (विद्यावारिधि) को संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको छानबिन समिति गठन गरेको छ । न्यायाधीश भट्टराईले साइबर कानूनमा विद्यावारिधि गरेका हुन् भने कोइराला झण्डै चार दशकदेखि पत्रकारितामा छन् । धामी लैंगिक विभेद विज्ञ हुन् ।
जानकारका अनुसार एउटा तुच्छ स्वार्थ समूह लामो समयदेखि प्राध्यापक संग्रौला र केएसएललाई योजनावद्ध बदनाम गराउन उद्दत छ । त्यही समूहले अनुशासनमा भन्दा उदण्डतामा रमाउने पात्रलाई प्रयोग गरेर संग्रौला र संस्था विरुद्ध बदनामीको रङ पोत्ने प्रयास गरेको हो । काठमाडौं स्कुल अफ ल मा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ, नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतले इकाइ समिति, प्रा.क. गठन गर्न पटक–पटक दबाब दिने गरेका त थिए नै, मोटो रकम ‘चन्दा’ समेत माग्ने गरेका थिए । काठमाडौ स्कुल अफ ले त्यसलाई अस्वीकार गर्दै आएको थियो । यति मात्र होइन, प्रा. संग्रौलाले लिएको देशभक्तिपूर्ण अडान, भ्रष्टाचार, वेथितिविरुद्धको अभिव्यक्तिसँग समेत ठूलै स्वार्थ समूह रुष्ट छ ।
हरेक समाजमा एउटा यस्तो परपीडक समूह हुन्छ, जो अरुलाई परेसान बनाउन पाउँदा रमाउँछ । जानकारका अनुसार संग्रौला र काठमाडौं स्कुल अफ ल लाई त्यही परपीडक प्रवृतिले किचाघानमा पारेको हो । जानकारहरुका शब्दमा काठमाडौं स्कुल अफ ल र संग्रौलालाई निसाना साँध्नुको कार्य–कारण स्पष्ट छ, काठमाडौं स्कुल अफ ल र उनलाई अनैतिक, असफल, दागी, बेइमान करार गर्न सके बर्खे च्याउसरी खुलेका ल कलेजमा विद्यार्थीहरु तान्न सकिन्छ । त्यही स्वार्थ समूहले केएसएलकै केही विद्यार्थी, चेलाचपेटाहरु प्रयोग गरेर प्रा. संग्रौलाको व्यक्तित्व र एउटा उदाहरणीय सफल संस्था माथि नियोजित आक्रमण गरिएको बताउँछन् जानकारहरु ।
“काठमाडौं स्कुल अफ ल को विरुद्धमा लागिरहने एउटा सानो स्वार्थ समूह छ । उनीहरुका वरिपरि केएसएलमै अध्ययन गरेका केही विद्यार्थीहरु पनि सहभागी हुन पुगेका छन् । तिनीहरुले म र कलेज विरुद्धका गतिविधि गरिरहेका बुझिएको छ”, कार्यकारी निर्देशक प्रा. संग्रौला नेपालमुहारसँग भन्छन्, “विभिन्न विश्वविद्यालयहरुबाट सम्बन्धन लिएर अहिले आधा दर्जन बढी ल कलेज खुलेका छन्, म हाम्रा शिक्षक र काठमाडौं स्कूल अफ ल लाई ड्यामेज गर्न सकियो भने हाम्रामा विद्यार्थी आउँछन् भन्ने ती कलेजमा आवद्धहरुलाई लागेको छ । त्यसैले हामी विरुद्ध सुनियोजित षडयन्त्र भएको हो ।”
प्रा.डा. संग्रौला, जसले आफ्नो जीवनलाई भन्दा बढी स्नेह कानुनी शिक्षाको उन्नयन, मानवअधिकारको पैरवी र देशभक्तिलाई गरेका छन् । काठमाडौं स्कुल अफ ल र नेपालको कानूनी शिक्षाको प्रतिष्ठालाई संसारभर चम्काउन अहोरात्र खटिएका छन्, उनै संग्रौलालाई त्यही स्कुलमा पढे/बढेकी छात्राले ‘मौखिक यौन हिंसा गर्यो’ भनेर आरोप लगाउनु निकै नै विडम्बना हो । सुरुमा संग्रौला, त्यसपछि समग्र कलेज अनि १४ जनाभन्दा बढी शिक्षकहरुलाई मुछ्नुको प्रयुक्त प्रयोगले नै पुष्टि हुन्छ कि संग्रौला, संस्था र शिक्षकहरुमाथि सुविचारित र सुनियोजित रुपमा प्रतिशोध साँध्न यस्तो संगीन आरोप लगाइएको हो ।
संग्रौला नेतृत्वको काठमाडौं स्कुल अफ ल ले अढाई दशकमै चामत्कारिक रुपमा निकै लोभ लाग्दो प्रगति गरेको छ । जसबाट परपीडक मानसिकताका केही पात्र र प्रवृतिहरु छटपटिएका मात्र छैनन्, तिल्मिलाएका छन् । संसारिक मायामोह त्याग गरेर जङ्गलमा बसेर तपस्या गर्ने ऋषिमुनिका त शत्रु हुन्छन् भने एउटा संस्थालाई अब्बल बनाएर अन्तर्राष्ट्रिय पहिचान स्थापित गराएका प्रा.संग्रौलाका ‘वैरी’ हरु नहुने कुरै भएन । तिनै वैरीहरुको मिलेमतोमा संग्रौला र उनी नेतृत्वको संस्थामाथि निसाना साँधिएको घटनाक्रमले देखाउँछ ।
योग्य व्यक्ति सृजनशील, साहसी त हुन्छ नै, पीडित पनि हुन्छ । अवश्य पनि प्रा. संग्रौला क्षमतावान, सृजनशील र साहसी त छन् नै, उनी पीडित पनि छन् अर्थात उनको अगुवाईबाट तर्सिएका ‘पीडक आत्मा’हरुले संग्रौलालाई धेरै पटक पीडित बनाएका छन् । पीडित बनाउने क्रमकै उत्कर्षमा फेरि एक पटक प्रा. संग्रौला र उनी नेतृत्वको संस्थामाथि संगीन लान्छना लगाइएको छ,, जुन अमूर्त र अपुष्ट छ ।
हेर्नुहोस् काठमाडौं स्कुल अफ ल को प्रेस नोट


