Connect with us

राजनीति

जबजको नीति पारित गर्ने महाधिवेशनस्थलका लागि घर उपलब्ध गराउने सुनुवारको निधन

Published

on

भूमिगतकालमा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन गर्न घर उपलब्ध गराउने कम्युनिष्ट नेता बलबहादुर सुनुवारको निधन भएको छ । 

सिराहाको धनगढीमाई नगरपालिका–१४, सर्रे अम्बासका सुनुवारको बिहीबार ८५ वर्षको उमेरमा सिराहा स्थित आफ्नै घरमा निधन भएको हो । 

सुनुवारले आफ्नो सर्रे अम्बासस्थित घर तत्कालीन भूमिगत मालेको चौथो महाधिवेशनका लागि उपलब्ध गराएका थिए । ३४ वर्ष अघिको सो इतिहासलाई पुनर्ताजगी गर्दै नेकपा एमालेले २०८० साल भदौ १३ गते पार्टीको केन्द्रीय सचिवालयको बैठक सोही घरमा आयोजना गरेको थियो । 

कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएको बेला जोखिम मोलेर सुनुवारले पार्टीको महाधिवेशन गर्न आफ्नो घर उपलब्ध गराएका हुन् ।

चुरे जङ्गलको बिचमा रहेको सर्रे आम्बासलाई नेताहरूले सुरक्षित स्थान ठानी तत्कालीन नेकपा मालेको चौथो अधिवेशन गरिएको थियो । स्वर्गीय बलबहादुर सुनुवारले उपलब्ध गराएको उक्त घरमा बसेर पञ्चायती व्यवस्थाको अन्त्यका लागि योजना बनाइएको थियो ।

२०४६ सालमा जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आधार तथा संयुक्त जन आन्दोलनको कार्यदिशा तय गर्न सफल रहेको तत्कालीन नेकपा मालेको अधिवेशन सम्पन्न गर्न घर उपलब्ध गराएर सुनुवारले इतिहास निर्माण गरेको एमालेले जनाउँदै आएको छ।

 २०७७ साल असार १४ गते मदन भण्डारीको जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउण्डेसनले नगद ५१ हजार सहित सुनुवारलाई सम्मान गरेको थियो ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादको आधार तथा संयुक्त जनआन्दोलनको कार्यदिशा तय गर्न सफल रहेको तत्कालीन नेपाल कम्युनिष्ट पाटी मार्क्सवादी लेनिनवादीको ऐतिहासिक चौथो महाधिवेशन (भाद्र १–१४ २०४६) स्थल उपलब्ध गराई पार्टीलाई पुर्‍याउनु भएको सहयोगको मूल्याङ्कन गर्दै सो सम्मान गरेको थियो । 

बिहीबार निधन भएका सुनुवारको शुक्रबार अन्त्येष्टि गरिएको छ । उहाँलाई नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले पार्टीको झण्डा ओढाई अन्तिम बिदाइ गरे।

सुनुवार

सुनुवारले उपलब्ध गराएको घर

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.