त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । काठमाडौं उपत्यकाका २२ मध्ये ६ र बाहिरका ४० मध्ये ६ वटामा निर्वाचन कार्यक्रम बिथोलिएको छ । धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र महेन्द्र बहुमुखी क्याम्पस, दाङसहित १३ क्याम्पसमा निर्वाचन स्थगित भएको छ । ती बाहेकका ४६ वटा क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
उपत्यकाबाहिर मेची बहुमुखी झापा, महेन्द्र मोरङ क्याम्पस विराटनगर, डिग्री क्याम्पस विराटनगर, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, कृषि क्याम्पस पक्लिहवा, भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, रारा बहुमुखी क्याम्पस जनकपुर र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा स्ववियु निर्वाचन हुँदैछ ।
नेविसंघभित्रको आन्तरिक विवाद, शेरबहादुर देउवा र शेखर कोइराला गुटको कारण केही क्याम्पसमा निर्वाचन बिथोलिएको थियो । उपत्यकामा भने सत्ताधारी नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु९क्रान्तिकारी०ले ताला लगाएका कारण निर्वाचन रोकिएको छ ।
उपत्यकामा मनोनयन गर्ने दिन त्रिवि केन्द्रीय र पद्मकन्या क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया शुरू हुन सकेको थिएन । पछि आन्तरिक द्वन्द्वका कारण नेविसंघका शेखर कोइराला पक्षका उम्मेदवारले विभिन्न क्याम्पसमा ताला लगाएका छन् । जसले गर्दा त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन । केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार अहिले बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन स्थगित भएका सबै क्याम्पसमा २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने छ ।