Connect with us

अर्थ

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन उद्योगमन्त्री भण्डारीको आग्रह

Published

on

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

आज धनगढीमा आयोजीत प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकको सम्बोधन गर्दै उनले तीनै तहका सरकार र निजिक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “नेपालले सन् २०३० सम्ममा न्यून आय भएको मुलुकबाट मध्यम आय भएको देशको स्तरमा पुग्ने एक महत्वपूर्ण लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि आर्थिक, सामाजिक, रोजगारी र नागरिक जीवनस्तरका क्षेत्रमा आमूल सुधार गर्न आवश्यक छ । यसै सिलसिलामा हालसम्म न्यून आय भएको देश भएकाले विश्व समुदायबाट प्राप्त सुविधाहरूमा मध्यम आय भएको देशको स्तरमा स्तरोन्नती हुँदा कटौती हुन सक्ने भएकाले अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकास र वृद्धिलाई टेवा दिने उपायहरू खोज्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।”

मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताए ।  “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो । यहाँको कुल घरेलु उत्पादनमा कृषि क्षेत्रले ३३ प्रतिशत योगदान पु¥याएको छ । स्रोत साधनको उपयोग र जनसांख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो । यस प्रदेशमा प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वनस्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् ।” 

उनले भने, “प्रदेश सरकारले लगानीयोग्य ५६ वटा परियोजना पहिचान गरिसकेको छ, जसमा रिसोर्ट, वाटर पार्क, ¥याफ्टिङ, पाँच तारे होटल, हेलिकप्टर सफारी, कृषि औजार उत्पादन, भेडा च्याङ्ग्रा फार्मिङ, फलफूल उद्योग, यातायात सेवा, केवलकार जस्ता विविध क्षेत्र समेटिएका छन् । यी परियोजनाहरूले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासलाई थप गति दिने र यहाँको स्रोतसाधनलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।”

उनले ठूलो सम्भावना बोकेको प्रदेशमा आर्थिक र विकास निर्माणका गतिविधिहरू अपेक्षित मात्रामा सञ्चालनमा नहुनु बिडम्बना रहेको बताए । स्रोतहरूको न्यून परिचालन र अवसरहरूको सीमित उपलब्धताका विशेषगरी पहाडी र हिमाली क्षेत्रका मानिसहरू जीविकोपार्जनका लागि प्रायः न्यून ज्यालामा काम गर्ने गरी मौसमी कामदारको रूपमा भारततर्फ पलायन हुने प्रवृत्ति बढेको उनको भनाइ छ ।

उनले सम्भावनाहरूको सदुपयोग गरी प्रदेशको आर्थिक, सामाजिक र औद्योगिक रूपान्तरणमा स्वदेशी तथा वैदेशिक लगानी एक महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्धता व्यक्त गरे । 

सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताहरूसँग मेल खाने गरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगानीमैत्री वातावरण सृजना गर्न, निजी क्षेत्रको सहभागिता बढाउन, र रणनीतिक पूर्वाधारमा लगानी भित्र्याउन आवश्यक नीति सुधार, कानूनी सरलता र सहजीकरणका उपायहरू अवलम्बन गर्दै आएको बताए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतासँग मेल खाने गरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी अघि बढाएको मन्त्री भण्डारीको भनाई छ । लगानी सम्भावित क्षेत्रहरूको पहिचान र परियोजना सूची तयार गर्ने, नीति तथा कानूनी सुधारका एजेन्डाहरू संकलन र प्राथमिकता निर्धारण, वैदेशिक प्रतिनिधिमण्डलसँग पूर्व–सम्पर्क र आमन्त्रण प्रक्रिया, संघीय तथा प्रदेश सरकारबीच समन्वय सुदृढ गर्ने संयन्त्रको निर्माण गर्ने बताए ।

उनले यो सम्मेलन लैगानीमैत्री वातावरण निर्माण गरि समृद्ध प्रदेश निर्माणको दिशा केन्द्रीत पाइला भएको बताए ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.