नक्कली भूटानी शरणार्थी काण्ड लागेदेखि सार्वजनिक कार्यक्रममा कमै देखिने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित डा. शेखर कोइराला निवासमा प्रकट भएका छन् ।
सभापति शेरबहादुर देउवाको विश्वासपात्रका रूपमा चिनिँदै आएका खाँणले पछिल्लो समय गुट परिवर्तन गरेको चर्चा चलिरहेको बेला एकाएक संस्थापन इतर खेमाका नेता शेखर निवासमा देखिएका हुन् । आज बिहान त्यहीँ पत्रकार सम्मेलन गरेका उनले कोइराला परिवारको प्रशंसा गरे । कोइराला निवासको भ्रमणलाई गुटसँग जोडेर नहेर्न आग्रह गर्दै भने, ‘कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिकस्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।’
कोइराला परिवारबाट नेपाली कांग्रेसको नेतृत्व गरेका वीपीदेखि शुशिल कोइरालासम्मको नाम लिँदै उनले थप अगाडि भने, ‘यो घरमा आउँदा मलाई विपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निकै सम्झना आउँछ । उहाँहरु बसेको घर भएकोले यो पवित्र भूमि लाग्छ ।’
खाँणले आफू अहिले गुट परिवर्तन भन्दा पनि १५औँ महाधिवेशनको तयारीमा लागेको पनि बताए । ‘अहिले त्यो गुट र यो गुट भन्ने समय होइन, १४औँ महाधिवेशन एक वर्ष थपेर गरिएको थियो, अहिले समयमै हुन्छ’, उनले थपे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका खाँण कांग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली मानिन्छन् । संसदीय दल र केन्द्रीय समितिमा उनी निर्णायक हैसियतमा छन् ।
निकटहरूका अनुसार भुटानी प्रकरणमा आफूमाथि अन्याय भएपनि सभापति देउवाले जोगाउन पर्याप्त पहल नगरेको खाँणको गुनासो छ । त्यहि भएर संस्थापनसँग टाढिएका उनी शेखरतिर लागेको बुझिन्छ । यद्यपि आजको पत्रकार सम्मेलनमा उनले गुट परिवर्तन गरेको सन्देश दिन चाहेनन् ।