कर्मचारीको अवकाश उमेरका लागि हिजोको बैठकमा जिद्दी कसेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने आज बहादुरीपूर्वक पछि हटेकी छन् । सरकार र सत्तापक्षीय सांसदहरु निजामती कर्मचारीको अवकाश उमेर यसै वर्ष ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेसँगै सहमति जुटेको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यस अघि सहमति भइसकेको ५८ वर्ष अवकाश उमेरमा सरकार तयार भएको जानकारी गराएसँगै सहमति जुटेको हो ।
विगत ३ दिनदेखि मन्त्रीसँगै सत्तारुढ दल नेकपा ९एमाले० र नेपाली कांग्रेसका सांसदले मुख्यसचिव सहित केही सचिवको सेवा अवधि एक वर्ष लम्बाउन विधेयक पारित भएकै वर्ष अवकाश उमेर ५९ वर्ष राख्न अडान लिँदै आएका थिए । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा पनि विधेयक पारित भएको वर्षमा ५८ वर्ष, दोस्रो वर्षमा ५९ र तेस्रो वर्षमा ६० वर्षमा अनिवार्य अवकाश उमेर राखिएको थियो ।
प्रतिनिधि सभाले पनि प्रस्तावित विधेयकलाई नै जस्तोको त्यस्तै पारित गरेको थियो । अवकाश उमेरमा सहमति जुटेसँगै अब राष्ट्रियसभाबाट विधेयक पारित हुनेछ ।