राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर चार दिन हिरासतमा राखेर अनुसन्धन अघि बढाउन अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईंलाई गएराति भक्तपुरको थिमीस्थत निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो । समाज भड्काउने अभिव्यक्तिले हिंसा भड्किन सक्ने आकलनपछि प्रहरीले राति नै पक्राउ गरेको हो ।
सात मंसिरदेखि देशव्यापी आन्दोलन गर्ने, सबै क्षेत्र ठप्प पार्ने घोषणा गरेका उनले हिजोदेखि शुरु भएको क्रिकेट प्रतियोगिता एनपीएल रोक्नुपर्ने चेतावनी दिएपछि सरकार र सुरक्षा अधिकारीहरु गम्भीर भएका हुन् । प्रहरीले भनेको छ, ‘उनका अभिव्यक्तिले सामाजिक तनाव र अशान्ति बढ्नसक्ने जोखिम देखियो ।’