आफैँ नेतृत्वको पार्टी बनाउन बालेन छलफलमा
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नै नेतृत्वमा पार्टी बनाएर अघि बढ्न कस्सिएका छन् । उनले हिजो दिनभर ललितपुरको कुपन्डोलमा करिब ७ घण्टा फरक– फरक क्षेत्रका व्यक्तित्वसँग कुराकानी गरेको बताइएको छ । बालेन निकट एक नताका भनाइमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीचको भेटले सार्थकता पाउने सम्भावना निकै कम छ । त्यसैले उनले छलफललाई तीव्रता दिएका हुन् ।
निर्वाचन आयोगमा समानुपातिक सूची पठाउने समय नजिकिएकाले छलफललाई तीव्रता दिइएको बालेन निकट ती नेताको भनाइ छ । हिजोको छलफलमा पत्रकार, उद्योगी, व्यवसायी, जेनजी प्रतिनिधि, केही दलका नेताहरुलगायतसँग पनि भेट गरेका थिए ।
बालेनले विवेकशील पार्टी छाडेका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमलालगायतसँग छलफल गरेका ती नेताको भनाइ छ ।
पत्रकार धमलाका अनुसार बालेन झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्न चाहन्छन् । अर्का एक नेताका भनाइमा यो प्रारम्भिक चरणको छलफलमात्रै हो । भन्छन्, ”बालेन र रविबीचको छलफलले ठोस निष्कर्ष दिन नसकेपछि उहाँले नै अग्रसरता लिनुभएको हो । समानुपातिकको डेडलाइनले पनि दबाब दिएको छ ।”