नेकपा एमालेबाट निस्कासनमा परेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता भीम रावल (विद्यावारिधि) प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदैछन् । आज दिउँसो २ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा गरिने कार्यक्रममार्फत रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् ।
कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने योजना छ । गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलले आफुनिकटस्तहरुसँग ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् ।
गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए । गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो ।
रावललाई पार्टीमा छैटौं बरियता
जानकारका अनुसार रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता दिने सहमति नेताहरुबीच भएको छ । रावलको समूहका नेता–कार्यकर्ताहरुलाई उचित स्थान दिने समझदारी पनि भएको छ । ६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका दस्तावेज लेखनको नेतृत्व रावललाई दिने लगायतका समझदारी भएका छन् ।
‘भीम रावलजीसँग विभिन्न विभिन्न पाँच बुँदे समझदारी भएको छ, जुन आजको कार्यक्रममा सार्वजनिक हुन्छ,’ नेकपाका एक नेताले बताएका छन् ।