Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पको ‘युद्ध शक्ति’ माथि अङ्कुश लगाउने कसरत सुरु

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै अमेरिकी संसद्मा उनको युद्ध शक्तिमाथि अङ्कुश लगाउने कसरत सुरु भएको छ। सिनेटका विपक्षी नेता चक सुमरले आगामी हप्ता इरानविरुद्धको युद्ध रोक्न र भविष्यमा हुने कुनै पनि आक्रमणका लागि कंग्रेसको पूर्वस्वीकृति अनिवार्य गर्ने प्रस्तावअघि बढाउने घोषणा गरेका छन्।

न्युयोर्कमा हिजो आयोजित पत्रकार सम्मेलनमा सुमरले यो खतरनाक मोडमा कंग्रेसले आफ्नो संवैधानिक अधिकार पुनः स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने र एउटा सिङ्गो सभ्यताको अन्त्य गरिदिने जस्ता धम्की दिएको केही समयमै युद्धविराम भएको थियो।

ट्रम्पका यस्ता अभिव्यक्तिलाई सुमरले ‘असन्तुलित’ र ‘सनकी’ को संज्ञा दिँदै यस युद्धले न त इरानी सरकारलाई कमजोर बनायो न त उसको आणविक कार्यक्रमलाई नै रोक्न सक्यो, बरु उल्टै विश्वभर इन्धनको मूल्य बढाएर सर्वसाधारणलाई सास्ती दिएको आरोप लगाएका छन्। ट्रम्प प्रशासनले यो युद्धलाई निर्णायक विजयको रूपमा चित्रण गरिरहेको छ। ह्वाइट हाउसले राष्ट्रपतिको कदम पूर्णतया कानुनी रहेको र कमाण्डर इन चिफको हैसियतमा देशको सुरक्षाका लागि सैन्य परिचालन गर्ने अधिकार उनीसँग सुरक्षित रहेको दाबी गरेको छ।

यद्यपि, डेमोक्र्याट सांसदहरूले भने ट्रम्पलाई हटाउनुपर्ने सम्मको माग गरेका छन्। विशेषगरी नागरिक पूर्वाधारमा आक्रमण गर्ने धम्कीले सन् १९४९ को जेनेभा महासन्धिको ठाडो उल्लङ्घन गरेको भन्दै विश्वभरबाट ट्रम्पको आलोचना भइरहेको छ।

तल्लो सदनका विपक्षी नेता हकिम जेफ्रिजले पनि ट्रम्पको लापरवाह र स्वैच्छिक युद्धलाई स्थायी रूपमा अन्त्य गर्न मतदान गरिनुपर्ने बताएका छन्। अमेरिकी संविधानले युद्धको घोषणा गर्ने अधिकार कंग्रेसलाई मात्र दिएको भए पनि अल्पकालीन सैन्य अपरेसन र तत्कालको सुरक्षा खतरा देखाएर राष्ट्रपतिले एकलौटी निर्णय गर्दै आएका छन्।

कंग्रेसमा रिपब्लिकनहरूको झिनो बहुमत रहेकाले विगतमा यस्ता प्रस्तावहरू विफल हुँदै आएका थिए, तर अहिलेको युद्धले निम्त्याएको मानवीय र आर्थिक सङ्कटका कारण डेमोक्र्याटहरू फेरि ट्रम्पलाई रोक्ने रणनीतिमा जुटेका छन्।
एजेन्सी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.