नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र आफूले पटकपटक निर्णायक हस्तक्षेप गर्न नसकेको भन्दै आफ्नै आलोचना गरेका छन्। उनले कांग्रेसले पटकपटक गल्ती गरेको र आफूले हस्तक्षेप गर्न नसकेर पटकपट गल्ती गरेको बताए।
करिब एक महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज बिहीबार आफ्ना भनाइ राख्ने क्रममा उनले नेकपा (माओवादी केन्द्र) को हँसिया हथौडामा भोट हाल्ने निर्णय र एमालेसँग सत्ता सहकार्यका दुवै निर्णय गलत र हानिकारक भएको बताए। उनले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व फेर्न खोज्दा नसकेको स्वीकार्दै पार्टीमा निर्णायक हस्तक्षेप गर्न आफू चुकेको बताए।
उनले २०६८ सालदेखि नै कांग्रेसका शीर्ष नेताहरूले बिदा लिनुपर्छ भने पनि अहिलेसम्म नसकेको पनि बताए। ‘म १३ औँ महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ, १४औँमा उठेर जितेँ । १४औँमा नेता शेखर कोइरालालाई सभापतिका लागि मत मागेकै हो, हालेको पनि हो,’ उनले भने, ‘२०७८ मा शेखर दाइलाई सभापति बनाउन खोजेको हो, सकिएन।’ भदौ २४ गते आफ्नो घर जल्दा आफूले आफ्ना गल्तीहरू महसुस गरेको उनले बताए।
उनले बैठकमा भने- ‘जसलाई फेर्नुपर्छ भनिस्, त्यहीसँग टाँसिएर बसिस् भन्नु भएको छ, अस्ति ९भदौ २४ गते० म लखेटिँदा, मेरो घर जल्दा ती कुरा मिसिएर आएको मैले पाएँ। प्रश्न उठाए पनि पार्टीभित्रका विकृति जति भत्काउनु पर्ने थियो, त्यति भत्काउन सकिनँ।’ उनले २०७९ वैशाखको स्थानीय तहको चुनावमा भएको टिकट वितरणको प्रसंग निकाल्दै त्यसमा पनि आफूले हस्तक्षेप गर्न नसकेको बताए। ‘कुनै स्थानीय तहको टिकट वितरणका लागि सभापतिले बोलाउनुभयो। तर मैले त्यो स्थानीय तहका ती पात्रलाई उम्मेदवार बनाउँदा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएँ, तर, सभापतिले हुँदैन, मिल्दैन मैले उम्मेदवार हो भनेर बचन दिइसकेँ भन्नु भयो। त्ययसमा पनि मैले गल्ती गरेँ । विरोध गरेपछि सभापतिले भनेको भन्दे आँखा चिम्लिएर बसेँ । मैले त्यही बेला हुँदैन भन्ने अडान लिनुपर्थ्यो, त्यसो नगरेर मैले गल्ती गरेँ।’
२०७९ मंसिरमा भएको आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धनलाई पनि उनले गल्तीका रूपमा लिए। ‘माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरा केही सैद्धान्तिक आधार अहिले पनि कायमै छन्। यसमा पनि मैले अडान छाडेर गल्ती गरेँ। अडान लिएपछि त्यसमै निर्णय गराउन सक्नु पर्थ्यो कि त म चुनाव लड्न जानु हुँदैन थ्यो । त्यसबेला पनि गल्ती गरेकै हो,’ उनले भने।
उनले आमनिर्वाचनमा हँसिया हथौडामा भोट हालेपछि पनि गल्ती नसुधारेको बताए। त्यसपछि प्रतिपक्षमीमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई मत हालेर गल्ती गरेको उनले बताए। ‘मैले त्यसबेला पनि फरक मत राखेकै हो। सरकार बन्यो, पार्टीको निर्णय भनेर गइयो’, उनले भने, ‘त्यो अर्को गल्ती थियो।’ एमाले(कांग्रेसको सत्ता गठबन्धन हुँदैन भन्दा सभापतिले नटेरेको तर आफूले अडान छाडेर त्यहाँ पनि गल्ती गरेको उनले बताए। २०८१ असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति गरेको भोलिपल्ट सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेर प्रश्न गरेको बताउँदै भने( ‘मैले सभापति ९शेरबहादुर देउवा० को घरमा कांग्रेस तपाईंको ‘प्राइभेट कम्पनी’ हो भनेर सोधेको थिएँ, तर उहाँले मलाई भइहाल्यो, भइहाल्यो यार, हिजो भनेको भए त कुरा बाहिर निस्किन्थ्यो भनेर मलाई मनाउनु भयो।’