Connect with us

राजनीति

आठ वटा संसदीय समितिका बैठक आज एकैदिन बस्दै

Published

on

आठ वटा संसदीय समितिका बैठक आज २० असारमा बस्दैछन् । अहिले बिहान साढे १० बजे बस्ने भनिएको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक चाहिँ स्थगन गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले ८ बजे बस्दै छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक १० बजे बस्दै छ । बैठकमा ऐन कार्यान्वयन मापन विषयमा छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

अर्थ समितिको बैठक ११ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदसित छलफल गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि ११ बजे नै बस्नेछ । बैठकमा सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका निम्ति निर्धारित कोटाका विषयमा छलफल गरिनेछ ।

पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोसी–मरिन डाइभर्सन आयोजनालगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा समितिको आउँदो कार्यक्रम तथा समसामयिक विषयमा छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । यी सबै प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति हुन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ ।

बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.