Connect with us

तथ्य खोज

न्यूनतम मानवीय संवेदना समेत गुमाउँदै प्रभुराम शर्मा एक महिने बिदामा

Published

on

सैनिक संगठन र सिपाहीको मनोबलमा धमिरा लगाएर सैनिक प्रमुख प्रभुराम शर्मा निवृत

घटना एक
संयुक्त राष्ट्रसंघ (युएन) ले सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर, मिलाड) पदका लागि उम्मेदवारी दिन नेपाललाई आग्रह गरेको थियो, गत जेठमा । नेपाली सेनाकै इतिहासमा पहिलो पटक संयुक्त राष्ट्रसंघले नेपालले सैनिक सल्लाहकारमा उम्मेदवारी दिन आग्रह गरेको थियो ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा उपमहासचिवको हैसियतमा सैनिक सल्लाहकार रहन्छन् । तीन तारे जर्नेल (रथी) ले सैनिक सल्लाहकारको पद पाउँछन् भने दुई तारे जर्नेल उप सल्लाहकार (डेपुटी मिलाड) हुन्छन् । नेपालले उप सल्लाहकारको अवसर पाइसकेको छ । संयुक्त राष्ट्रसंघको उपमहासचिवको हैसियतको सैनिक सल्लाहकार पद नेपालका प्रशासक र प्रधान सेनापति भन्दा सम्मानित एवम् शक्तिशाली हुन्छ ।

राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कबाटै सैनिक सल्लाहकारमा आवेदन दिन आग्रह गर्दासमेत सैनिक प्रमुख प्रभुराम शर्मा र रक्षा मन्त्रालयले अवसरका रुपमा लिएनन् । स्रोतका अनुसार जंङ्गी अड्डाको आग्रहमा गत जेठमा रक्षा मन्त्रालयले अहिले आफूसँग माग अनुसारको उम्मेदवार नभएको प्रतिउत्तर फर्कायो ।

संयुक्त राष्ट्रसंघका सल्लाहकारसँग संवाद गर्दै प्रभुराम शर्मा

नेपाली सेनाका एक जना उपरथीका भनाइमा राष्ट्रसंघले सैनिक सल्लाहकार पदका लागि आवेदन दिन जुन आग्रह गरेको थियो, त्यो नेपाललाई विरलै प्राप्त हुने अवसर थियो । यस्तो अवसर सितिमिति आउँदैन । नेपाली सेनामा तीन तारे जर्नेलको दरवन्दी दुई वटा मात्र छ । जसमध्ये नक्कली जन्ममिति प्रमाणित हुँदाहुँदै पनि रथी हुँदै कामु सेनापति बनाईएका अशोकराज सिग्देललाई भावी प्रधान सेनापतिको रुपमा अघि सारेको र शैक्षिक प्रमाणपत्रमा गडबडी भएका अर्का रथी निर्मलकुमार थापा इजरायल–सिरियाबीचको गोलान हाइटमा राष्ट्रसंघको फोर्स कमाण्डर रहेको जनाउँदै सैनिक प्रमुख शर्माले ऐतिहासिक अवसरलाई पन्छाएका अर्का एक उपरथी बताउँछन् ।

सैनिक प्रमुख शर्माले राष्ट्रसंघको सैनिक सल्लाहकार पदको गरिमा र संवेदना बुझेका हुन्थे भने वरिष्ठ उपरथीलाई का.बा. रथीको जिम्मेवारी दिएर पनि अवसरलाई छोप्न सकिन्थ्यो । तर, जसरी राजा महेन्द्रले ऋषिकेश शाहलाई संयुक्त राष्ट्रसंघको महासचिवमा सिफारिस गर्दा आफू तल पर्छु भन्ठानेर ऐतिहासिक अवसरलाई चकनाचुर बनाए, ठिक त्यही डाढे शैलीमा प्रभुराम शर्माले आफूलेभन्दा सम्मान पाउने राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा सिफारिस नगरेर नेपालले पाउने बिरलाकोटी अवसर गुमाएका एक जना सहायक रथीको भनाइ छ ।

घटना दुई
त २ जेठमा छाउनीस्थित सैनिक अस्पतालमा पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निधन भयो । सेना, प्रहरीमा ‘जवान’ को निधन हुँदा समेत सलामी गारद अर्पण गरिन्छ । झन् प्रधान सेनापति, महानिरीक्षकहरुको त नहुने कुरै भएन । सलामी गारद अर्पण दर्जा अनुसार फरक–फरक हुन्छ । पूर्वप्रधान सेनापतिको निधनमा गण, रथी, उपरथीकोमा दुई गुल्म र सहायक रथी, महासेनानीको निधनमा एक गुल्मले सलामी गारद अर्पण गर्ने सैनिक व्यवस्था छ ।

तर, पूर्वप्रधान सेनापति थापाको निधनमा शर्माले परम्परा अनुसारको विशेष सम्मान दिएनन् । सैनिक प्रमुख शर्माले पूर्वप्रधान सेनापति थापाको निधनमा सलामी गारद घटाएको जानकारी पाएपछि अर्का पूर्वप्रधान सेनापति गौरव शम्शेर ज.ब.रा.लगायत जर्नेलहरुको एउटा समूह शशी भवन पुगेको थियो । जहाँ पूर्वसेनापति ज.ब.रा. ले शर्मालाई ‘तपाईँ–हामी चाहिँ मर्दैनौ ? परम्परागत सलामी दिँदा पैसा लाग्ने हो ? हामी आफैँले आफ्नो सम्मान नगर्ने हो भने अरु कसले गर्छ ?’ भन्दै र्याखर्रयाख्ती पारेका थिए । तर, शर्माले परिपत्र भइसकेकाले आफूले सलामी गारद बढाउन नसक्ने जवाफ दिएका थिए ।

यस्तो जवाफ सुनेपछि पूर्वप्रधान सेनापतिका नाताले ‘राणा झ्वाक’ मा गौरव शम्शेरले शर्मालाई थप्पड नै हान्न खोजेका थिए । तर, पूर्वरथी भिक्ट्री राणाले रोकेकाले शर्मा थप्पड खानबाट बचेका एक जना सैनिक अधिकारी बताउँछन् । बहालवाला प्रधान सेनापतिलाई पूर्वप्रधान सेनापतिले तथानाम गाली गरेर थप्पड हान्न खोजेको त्यो पहिलो घटना भएको उनको भनाइ छ ।

स्वर्गीय धर्मपाल वरसिंह थापा

तत्कालीन युवराज दीपेन्द्र बुढानीलकण्ठ स्कुलमा पढ्दा उनको सुरक्षा प्रमुख धर्मपालवरसिंह थापा थिए भने थापाको सहायकका रुपमा गौरव शम्शेर ज.ब.रा. र पवनबहादुर पाँडे थिए । उनीहरुको व्यक्तिगत र पारिवारिक सम्बन्ध पनि प्रगाढ थियो/छ । त्यसैले ज.ब.रा., पाँडेले थापालाई निकै आदर गर्दथे । पूर्वप्रधान सेनापति थापालाई आर्यघाटमा परम्परा अनुसारको सलामी गारद घटाउनु हुन्न भन्ने ज.ब.रा. लगायत जर्नेलहरुको अडान थियो । तर शर्माले सलामी गारद कटौती गरेपछि ज.ब.रा.सहितले सामुन्नेमै ‘मानवीय संवेदनाहीन रहेछौ’ भनेका सँगै शशी भवन पुगेका एक जनाले नेपालमुहारलाई बताएका छन् ।

घटना तीन
पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङको संस्मरणात्मक पुस्तक जनताको छोरोको अंग्रेजी अनुवाद लोकार्पण कार्यक्रम थियो, अघिल्लो महिनाको १० असारमा । स्वास्थ्य अवस्था नाजुक बन्दै गएका गुरुङको पुस्तक लोकार्पणमा वहालवाल सेनापतिका हैसियतमा शर्मालाई निमन्त्रणा गरिएको थियो । जानकारका भनाइमा शर्माले म आउँछु भनेर आश्वासन पनि दिएका थिए । तर, लामो समय पर्खिएर तारन्तार गर्दा पनि शर्मा आएनन् ।

गुरुङको पुस्तक लोकार्पण कार्यक्रम

पुस्तक लोकार्पणपछि पूर्वसेनापति गुरुङका तर्फबाट ‘वहाववाला र पूर्व केही उच्च सैनिक अधिकारी र निकट’ हरुबीच रात्री भोज आयोजना गरिएको थियो । स्रोतका शब्दमा त्यहाँ पनि शर्मालाई निमन्त्रणा गरिएको थियो । रात्री भोजमा राति ९ बजेतिर शर्माकी श्रीमती सुनिता पुगेर ‘उहाँ आउन भ्याउनु भएन’ भनेकी थिइन । जब कि त्यसबेला शर्मा शशी भवनमै ‘खान्तेपिन्ते’ मा मस्त थिए ।

“गुरुङले निम्ता नै नगरेका भए पनि स्वास्थ्य अवस्था नाजुक भएका आफ्ना पूर्वप्रधान सेनापतिलाई भेट्न शर्मा आफ्नै विवेकले जानुपर्दथ्यो”, गुरुङको रात्री भोजमा सहभागी एक जना पूर्वउच्च सैनिक अधिकारी भन्छन्, “तर, नम्र निम्ता गर्दासमेत शर्मा बिरामी पूर्वप्रधान सेनापतिले आयोजना गरेको कार्यक्रममै आएनन् । मानवीय संवेदना कमजोर भएको चिसो मान्छे हुँ भनेर शर्माले आफूले आफैँलाई प्रमाणित गरे ।”

घटना चार
कुरा १५ पुस ०७९ को हो । नारायणहिटी राजदरबारस्थित उपत्यका पृतनाको कार्यालयमा वार्षिकोत्सव कार्यक्रम थियो । जहाँ वहालवाला र पूर्वउच्च सैनिक अधिकारीहरु प्रायशः सबैलाई निम्त्याइएको थियो । पूर्वप्रधान सेनापतिहरु प्रज्ज्वल शम्शेर ज.ब.रा., प्याराजंग थापालगायतले सेनाको नेतृत्व, रणनीति, कार्यनीतिका विषयमा कुराकानी गरिरहेका थिए ।

‘मापसे’ ले टिलपिल/टिलपिल भएका शर्माले प्रज्ज्वल शम्शेर ज.ब.रा. र प्याराजंग थापालाई प्याच्च भनिदिए, “तपाईहरुको पालामा रानी साबहरुले नेपाली सेना चलाउँथे । मेरो पालामा त्यस्तो छैन । म आफैँले चलाइरहेको छु ।” शर्माको यो प्रस्तुतिले जम्दै गरेको ‘पार्टी’ नै बिथोलियो । ज.ब.रा. र थापालगायत पाहुनाका रुपमा निम्त्याइएका थिए । पाहुना बोलाएर उनीहरुलाई घोचपेच गर्नु आफैंमा शोभनीय र शिष्ट व्यवहार होइन । त्यसपछिका दिनमा ज.ब.रा, थापालगायत थुप्रै उच्च सैनिक अधिकारीहरु शर्मा उपस्थित कार्यक्रममा सहभागी हुनै छाडे ।

रोचक के भने ‘तपाईहरुको पालामा रानी साबहरुले नेपाली सेना चलाउँथे । मेरो पालामा त्यस्तो छैन’ भनेका शर्माले काठमाडौं–तराइ, मधेस द्रूत मार्गको ठेक्कामा श्रीमती सुनिता मात्र होइन, सानाबा, सालो (श्रीमतीको सानीमाको श्रीमान्, उनको छोरो) लाई मनमौजी हस्तक्षेप गर्न परिचालित गरिरहेका जानकार बताउँछन् । द्रूत मार्गको ठेक्कामा हाबी गराएर ‘कुस्त’ अर्थोपार्जन गर्नकै लागि शर्मा दम्पतीले अमेरिकामा बसोबास गरिरहेका सानाबालाई झिकाएका स्रोतको कथन छ ।

यी केही प्रतिनिधि घटना हुन्, जसले आजबाट अनिवार्य एक महिने बिदा बस्दै गरेका प्रभुराम शर्माको संवेदनाहीन र स्वेच्छाचारी शैली प्रष्ट्याउँछन् । तीन वर्षे कार्यकाल पुरा गरेर सैनिक प्रमुख शर्मा अनिवार्य अवकाश हुँदैछन् । त्यसअघि एक महिना अनिवार्य बिदा बस्नु पर्ने प्रचलन छ । फलतः शर्मा आजैबाट बिदा बस्दैछन् । जंङ्गी अड्डाका अनुसार तीन वर्षे कार्यकालमा शर्माले राम्राभन्दा नराम्रा कामको ‘रेकर्ड’ धेरै राखे । सेनाभित्र मात्र होइन, बाहिर समेत भरपुर राजनीति गरे । ‘मानवीय संवेदना’ गुमाए र गर्नै पर्ने काम गरेनन्, गर्नै नहुने काम गरे ।

तीन वर्षे कार्यकालमा शर्माले सेनाभित्र गरेको सबैभन्दा उपलब्धिपूर्ण काम हो, सबभन्दा दागी, बदनाम, भ्रष्टहरुलाई प्रोत्साहित गरे, लोकलाजको अनुहार पानी/पानी बनाएर बेइमानहरुलाई च्याप्नुसम्म च्यापे । तीन नागरिकताका धनी सरोजप्रताप राणालाई रथी बनाए । सेनाभित्र नामुद भ्रष्टका रुपमा स्थापित सीताराम खड्कालाई जग्गा ‘प्लटिङ’ मा खुलेआम छाडा छोड्दै रथीमा बढोत्तरी गरे । खड्काले किर्तिपुरको मच्छेगाउँमा सार्वजनिक र आफ्नै सिपाहीको जग्गा हडप्दा समेत सामान्य अनुसन्धानको दायरामा समेत ल्याएनन् ।

शसस्त्र द्धन्द्धको घटनामा युएन मिसनबाटै फर्काइएका अर्का भ्रष्ट यात्री पूर्वउपरथी सुरेश कार्कीलाई राष्ट्रिय सेवा दल जगन्नाथ देवलको प्रमुख बनाए । सशस्त्र द्धन्द्धकालकै घटनामा सर्वोच्च अदालतको पूर्ण इजलास (ताहिर अलि अन्सारी, प्रकाश वस्ती र प्रा. भरतबहादुर कार्की (विद्यावारिधि) ले २८ असार ०६९ मै कानूनी कारबाही गर्न प्रष्ट आदेश दिएका उपरथी बाबुराम श्रेष्ठलाई ‘कोर’ घेरामा राखेर अनुकूलतामा उपयोग गरे । पछिल्ला दिनमा भने श्रेष्ठलाई ‘कर्नर’ मा राखेर पेलिएको जानकार बताउँछन् ।

किर्ते जन्ममितिका उपरथी ताराध्वज पाण्डेलाई घर पठाए नियोजित षडयन्त्र मार्फत अनि पाण्डेभन्दा किर्तेका ‘राजा’ अर्का उपरथी अशोकराज सिग्देलाई रथी हुँदै प्रधान सेनापतिमा सिफारिस गरे । सेना प्रमुख शर्माले न्यायालयको आदेशलाई ठाडो उल्लंघन त गरे नै, प्रधान न्यायाधीशदेखि न्यायाधीशहरुको हुर्मत लिने प्रयत्न गरे । तर, तिनै न्यायाधीशहरु शर्माको स्वेच्छाचारितासँग लुगलुग कामेर न्यायलाई जोर घुँडाले किचिरहेका छन् ।

अरु थप किस्सा

जागिरबाट बर्खास्त त धेरै टाढाको कुरा, सामान्य नसियत पनि दिन नमिल्ने प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह (विद्यावारिधि), प्रमुख सेनानी कुृलदीप तिमिल्सिनालाई शर्माले सैनिक ऐनको हुर्मत लिएर बर्खास्त गरे । महासेनानी शाह र प्रमुख सेनानी तिमिल्सिनाले संस्थाको आचरणमा आँच आउने केही पनि, कुनै पनि काम गरेका थिएनन् । शर्माले उनीहरुलाई उपरथी प्रेम शाहीलाई सहयोग गरेको आक्षेप लगाएर बर्खास्त गरेका थिए । आफू र परिवारको वेतन जागिरबाट धानिरहेका व्यक्तिलाई संगठनको हित विपरीत काम नगर्दा नगर्दै पनि व्यक्तिगत प्रतिशोधले बर्खास्त गर्नु हत्या बराबर हो । महासेनानी शाह र प्रमुख सेनानी तिमिल्सिनामाथि शर्माले हत्या सरह अपराध गरेका छन् । शर्माले उपरथी प्रेम शाहीमाथि गरेको कारबाही पनि प्रतिशोधकै द्योतक थियो ।

प्राड विवाक महासेनानी महेन्द्रजंग शाह

सैनिक ऐनको दफा १८ अनुसार उपरथी, महासेनानी, प्रमुख सेनानीको त कुरै छाडौं, प्रधान सेनापतिले सहायक सेनानीलाई समेत सेवाबाट हटाउन सक्तैनन् । हटाउन पर्ने भए प्रधान सेनापतिले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनु पर्छ र मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै सेनाको अधिकृतस्तरको कर्मचारी सेवाबाट हट्छ ।

तर, युद्धकालीन वा विदेशमा रहेको अवस्थाको दफा प्रयोग गरेर ०६३ यताका सेनापतिहरुले विशिष्ट र प्रथम श्रेणीका अधिकारीहरुलाई समेत मनमौजी प्रतिशोध साँधिरहेका छन् । सेनापतिको यस्तो स्वेच्छाचारिता विरुद्ध पूर्वसेनानी प्रज्ज्वल बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गरेका भएपनि दबाब र प्रभावमा पहिले दरपिट गरियो । पछि सुनुवाई नै ढिसमिस बनाइएको छ । झण्डै १० वर्षअघि नै सर्वोच्च अदालतले सैनिक ऐन संशोधन गर्न आदेश दिएपनि यो ‘रिपोर्टिङ’ तयार गर्दासम्म पालना भएको छैन ।

शर्माले तीन वर्षे कार्यकालमा संगठनभित्र आर्थिक विचलन, सैनिक कल्याणकारी कोषको चरम दुरुपयोग, सहकर्मीलाई छानीछानी काखा र पाखा, सैनिक मूल्य मान्यतामाथि निर्मम प्रहार, संरचनात्मक भद्रगोल, सार्वजनिक झुटजस्ता अनगन्ती वेथितिहरुको विजारोपण गरेका छन् । सैनिक उच्च अधिकारीहरुको स्वेच्छाचारितालाई नियन्त्रणमा राख्ने विगतको राजदरबार जस्तो शक्ति रिक्तता र सेना प्रमुखले जे गरे पनि छुनै हुन्न भन्ने निम्छरो राजनीतिक चेतलाई उपयोग गरेर तत्कालका लागि शर्माले जितेका छन । तर, सेना र सिपाहीको मनोबलमा धमिरा लगाएका छन् । धमिरा लागेको घरलाई बेलैमा पुनर्निर्माण नगर्ने हो भने कुनै न कुनै दिन घरधनीलाई नै किच्नेछ ।

यो निश्चित हो कि जुन दिन संविधान, ऐन, कानून सबैलाई समान ढंगले लागू हुने दिन आउनेछ, त्यही दिन शर्मा छानबिनको दायरामा आउनेछन् । र उनले आफूले गरेको ‘पाप’ को ‘प्रायश्चित’ गर्नै पर्नेछ ।

तस्विरहरुः नेपाली सेनाको वेव साइड र अर्काइभबाट

जिद्दी ओली सरकारको, जीत अशोकराज सिग्देलको, विधिहन्ता र अन्तर्राष्ट्रिय लज्जा देशको – Nepal Muhar

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.