मधेस प्रदेशमा मुख्य मन्त्री नियुक्रि प्रक्रिया विरुद्ध सात राजनीतिक दलले आज आइतबार पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले सरकार असंवैधानिक ढंगले गठन गरिएको आरोप लगाउँदै जनकपुरधामस्थित मधेस भवन अगाडि धर्ना बसेका छन् । आन्दोलनमा सहभागी दलहरूका नेताहरूले तत्कालीन प्रदेश प्रमुखको कदम संविधानविपरीत रहेको दाबी गर्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गरेका छन्।
धर्ना बस्ने सात दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकान्तरिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने बताउँदै सात दलिय गठबन्धन बसेर आगामी आन्दोलनको स्वरूप तय गरिने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सभा सदस्य भरत साहले आफ्नो विरोध असंवैधानिक निर्णयविरुद्ध भएको बताउँदै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा मधेसी जनताको हितमा निर्णय दिने विश्वास व्यक्त गरे। सात दल राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका छन् ।