नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आज आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन्।
आज बिहान ११ बजे त्रिवि स्मृति भवन कीर्तिपुमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिएका छन्। महाधिवेशनपछिको बन्द सत्र पनि त्यही हलमा हुनेछ।
बडालका भनाइमा महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।
गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो। पार्टीको ३२ वर्षे उमेरहद निर्देशनका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका छन्।
अध्यक्षका लागि पाँचै जनाले आकांक्षा राखेका छन्। जसमध्ये कडरियाले त अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनीहरूमध्येबाटै नयाँ नेतृत्व चयन हुने सम्भावना रहेको अनेरास्ववियुका नेताहरूले बताएका छन्।
अनेरास्ववियुले क्याम्पस कमिटीका अध्यक्षहरू २८ वर्षभन्दा मुनिका नै चयन गरिसकेको छ। त्यस्तै २३ औं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यहरू समेत ३० वर्ष तलका नै मनोनीत गरेको थियो।
पदाधिकारी तहमा पहिलोपटक ३२ वर्षे उमेरहद लगाउन पार्टीले निर्देशन दिएको बिदा हुन लागेका अध्यक्ष बडालले बताएका छन् ।