Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्पलाई मध्यावधि नजिते महाभियोगको चिन्ता

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले नजिते आफूविरुद्ध महाभियोग ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वाशिङ्टन हाउसस्थित रिपब्लिकन कोकस रिट्रिटमा बोल्दै ट्रम्पले सन् २०२६ को मध्यावधि निर्वाचनबारे चिन्ता व्यक्त गरेका हुन् । ट्रम्पले रिपब्लिकनहरूले सन् २०२६ को मध्यावधि निर्वाचन अनिवार्य जित्नुपर्नेमा जोड दिए ।

उनले रिपब्लिकनहरूले नोभेम्बरमा हाउस अफ रिप्रेजेन्टेटिभ्समा नियन्त्रण कायम राख्न नसके डेमोक्रेटहरूले महाभियोगको कारण खोज्ने चेतावनी दिए । उनले मध्यावधि निर्वाचन हार्दा आफूमाथि महाभियोग चल्ने बताएका छन् । ट्रम्पले वाशिङ्टनको रिट्रिटमा उपस्थित रिपब्लिकन सांसदहरूलाई एकजुट हुन र निर्वाचन जित्न आग्रह गरे । ट्रम्पले भने, “मध्यावधि जित्नैपर्छ, नत्र उनीहरूले मलाई महाभियोग लगाउने कारण खोज्नेछन् । मलाई महाभियोग लाग्नेछ ।”

ट्रम्पले सत्तारुढ पार्टीहरूले मध्यावधि निर्वाचनमा सिट गुमाउने ऐतिहासिक प्रवृत्ति स्वीकार गरेका छन् । उनले भने, “राष्ट्रपति निर्वाचन जितेपछि मध्यावधिमा हारिन्छ भनिन्छ । तपाईंहरू बुद्धिमान हुनुहुन्छ । तपाईंहरू यो क्षेत्रमा मभन्दा लामो समयदेखि हुनुहुन्छ । तपाईंहरूले मलाई जनताको मनमा के छ भनेर बुझाउन सक्नुहुन्थ्यो ।”

उनले आफ्नो नेतृत्व र अर्थतन्त्रप्रति जनताको असन्तुष्टिबारे चिन्ता व्यक्त गर्दै सन् २०२६ को निर्वाचनलाई आफ्नो राजनीतिक भविष्यका लागि महत्त्वपूर्ण बताए । भेनेजुएलामा अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलास मादुरो दम्पतीको पक्राउपछि ट्रम्प ग्रीनल्यान्डसम्बन्धी आफ्ना अभिव्यक्तिका कारण चर्चामा छन् ।

नोभेम्बर २०२६ को मध्यावधि निर्वाचनअघि ट्रम्पले लैङ्गिकता, स्वास्थ्य र निर्वाचन अखण्डतासम्बन्धी नीतिहरूका साथै मूल्यवृद्धिबाट असन्तुष्ट मतदातासँग जोडिएका विवादास्पद विषयहरू नउठाउन पार्टीलाई आग्रह गरेका छन् । ट्रम्पले भने, “राष्ट्रपति निर्वाचन जितेपछि मध्यावधि हारिन्छ भनिन्छ । जनताको मनमा के छ भनेर तपाईंहरूले बुझ्न सक्नुपर्छ ।” ट्रम्पले भेनेजुएलामा गरिएको हस्तक्षेपभन्दा स्टक मार्केटको वृद्धिमा बढी केन्द्रित रहेको बताए ।

उनले सन् २०२१ जनवरी ६ को क्यापिटल हमला र मादुरोले आफ्नो नाच्ने शैली नक्कल गरेको विषयसमेत उल्लेख गरे । उनले मेलानियाले सार्वजनिक स्थानमा नाच्न नदिने कुराबारे पनि बोले । ट्रम्पले रिपब्लिकनहरूले ‘मध्यावधि जित’ ल्याउने भविष्यवाणी गरे । तर, पार्टी लाइनमा नपर्ने सदस्यहरूप्रति असन्तुष्टि व्यक्त गरे । उनले डेमोक्रेटहरूको स्वास्थ्य बीमासम्बन्धी एकीकृत सन्देशविरुद्ध कडा जवाफ दिन आग्रह गरेका छन् ।

ट्रम्पले सांसदहरूलाई महत्त्वपूर्ण मुद्दाहरू बुझ्न र स्वास्थ्य सेवा व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका थिए । उनले भने, “यी सबै मुद्दा महत्त्वपूर्ण छन् । तर, तपाईंहरूले स्वास्थ्य सेवा सम्हाल्न सक्नुहुन्छ । बुझ्नुस् ।”

पहिले पनि दुईपटक महाभियोग

ट्रम्पविरुद्ध सन् २०१९ मा युक्रेन नीतिसँग सम्बन्धित विषयमा र डेमोक्रेटहरूले हाउस नियन्त्रणमा लिएपछि सन् २०२१ मा जनवरी ६ को दंगा भड्काएको आरोपमा, कार्यकाल समाप्त हुनुअघि दुईपटक महाभियोग चलाइएको थियो । तर, सिनेटले दुवै अवस्थामा उनलाई सफाइ दिएको थियो । डेमोक्रेटहरूले ट्रम्पमाथि शक्ति दुरुपयोगको आरोप लगाइरहँदा ह्वाइट हाउसले ती आरोप अस्वीकार गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको पक्राउको प्रतिक्रियामा डेमोक्रेट पार्टीका केही नेताहरूले ट्रम्पविरुद्ध महाभियोगको सम्भावना औँल्याएका छन् ।
ट्रम्पले आप्रवासनदेखि सैन्य कारबाही र नियमनसम्मका क्षेत्रमा एकल कार्यका लागि कार्यकारी शक्ति विस्तार गरिरहेका छन् । सुप्रिम कोर्टले चाँडै भन्सार दर तोक्ने अधिकारको व्यापक प्रयोगले कंग्रेसको संवैधानिक अधिकार हनन गरेको छ कि छैन भन्ने विषयमा फैसला गर्नेछ ।

डेमोक्रेट पार्टी अगाडि

द हिल पत्रिकाको रिपोर्टअनुसार आगामी मध्यावधि निर्वाचनमा डेमोक्रेट पार्टी अगाडि देखिन्छ । उनीहरू हाउस अफ रिप्रेजेन्टेटिभ्समा पुनः नियन्त्रण लिन आशावादी छन् । राजनीतिक वातावरण डेमोक्रेटहरूको पक्षमा भए पनि ठूलो जित भने सुनिश्चित छैन । रिपोर्टहरूका अनुसार हाउस स्पीकर माइक जोन्सनले पनि गत महिनाको कार्यक्रममा यस्तै चेतावनी दिएका थिए ।

स्पिकरको चेतावनी

हाउस अफ रिप्रेजेन्टेटिभ्सका स्पिकर माइक जोन्सनले पार्टी नेताहरूलाई चेतावनी दिँदै भनेका थिए, “हाउसमा बहुमत गुमाउँदा डेमोक्रेटहरू आक्रामक हुनेछन् । उनीहरूले राष्ट्रपति ट्रम्पमाथि महाभियोग चलाउने र ठूलो राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास गर्नेछन् । यदि हामीले हाउस गुमायौँ भने कट्टर वामपन्थीहरूले राष्ट्रपति ट्रम्पमाथि महाभियोग चलाउनेछन् । डेमोक्रेटहरूले पूर्ण अराजकता मच्चाउनेछन् । हामीले यस्तो हुन दिनु हुँदैन ।”
बाह्खरीबाट

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.