युक्रेन र रुसबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण गरिएका छन् ।हिजो युक्रेन र रुस दुवैले एकअर्काविरुद्ध घातक ड्रोन हमला गरेका छन् ।
रुसले युक्रेनले ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको दाबी गरेको छ । ती ड्रोमध्ये केही राजधानी मस्कोलाई लक्षित गरी प्रहार गरिएको थियो । जसले गर्दा मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित भई जहाजहरुलाई डाइभर्ट गर्नु परेको थियो । रुसी अधिकारीहरुका अनुसार धेरैजसो ड्रोन रामेनस्कोय, कोलोम्ना र डोमोडेडोभोमा खसेका थिए ।
रुसी रक्षा मन्त्रालयका भनाइमा मस्कोको दक्षिण(पश्चिम क्षेत्र रोमेनस्कोयमा खसेको ड्रोनले पाँच जना घाइते भएका छन् । चार वटा घरमा आगो लागेको छ । मन्त्रालयका अनुसार शहरमाथिको आकासमा आइपुगेका ३४ वटा ड्रोनलाई रुस आफैंले खसालेको थियो ।
यता रुसले पनि युक्रेनमा एक सय ४५ वटा घातक ड्रोन आक्रमण गरेको जनाइएको छ । तीमध्ये धेरैजसोलाई निष्कृय पारेको युक्रेनको दाबी छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपति निर्वाचित भएसँगै उनले युद्ध रोक्न रुस युक्रेन दुवैलाई दबाब दिनसक्ने अनुमान भइरहेका भइरहँदा यी दुई देशबीच घातक ड्रोन हमला भएका हुन् । समाचार संस्था बिबिसीका अनुसार युक्रेनले रुसमा गरेको ड्रोन आक्रमण हालसम्मकै घातक हो ।