Connect with us

राजनीति

सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौती- ‘चुनाव गरेर देखाऊ’

Published

on

जेन–जी आन्दोलनमा अपदस्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ‘अरू कसैले बनाइदिएको’ इंगित गर्दै आफ्नो पार्टीले २१ फागुनमा चुनाव गर्न नदिने चुनौती दिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’लाई सम्बोधन गर्दै ओलीले सरकार चुनाव गराउन नबनेको दाबी गर्दै यसको संवैधानिक हैसियतमाथि प्रश्न उठाए ।

‘जति उफ्रिए पनि सरकारको समय फागुन २१ मा सकिन्छ । तर, घामजून रहेसम्म रहिरहने फुर्ती छ । ताउरमाउर गरेको छ, चुनाव गरेर देखाऊ न त । यो सरकार चुनाव गराउन बनेको होइन । यस्तो हामीले विभिन्न देशमा देखेका छौँ । हरेकलाई ६ महिनामा चुनाव गराउन भनिएको हुन्छ । तर, ५–६ वर्षसम्म पनि चुनाव नभएको देखेका छौँ,’ ओलीले भने ।

ओलीले सरकारका गतिविधि चुनाव गर्नेतर्फ नभएको दाबी गरे । ‘चुनाव गराउँछु भन्ने सरकार (प्रधानमन्त्री) राजनीतिक पार्टीको नेताको त अनुहार हेर्न मन छैन भन्छ । भेट्न मन छैन, कुरा गर्न मन छैन भन्छ । सहयोगी भन्छन्– राजनीतिक दललाई चुनावमा भाग लिन दिने होइन, नेतालाई त घरबाटै बाहिर निस्कन दिने होइन । अर्कोथरी भन्छन्– फेरि पार्टीले नै जित्ने भए किन चुनाव गराउने ? यस्तोमा के चुनाव हुन्छ ?’ ओलीले प्रश्न उठाए ।

ओलीले सरकारलाई मान्यता नदिने र एमाले चुनावमा नभई संसद् पुनर्स्थापनातिर लाग्ने बताए । ‘असंवैधानिक सरकारलाई मान्यता दिने होइन, प्रतिनिधिसभा पुनर्स्थापना गरेर राष्ट्रलाई ट्र्याकमा फर्काउने हो,’ ओलीले भने, ‘देशभरका सम्पूर्ण पार्टी कमिटीहरू, सदस्यहरू अलमल र दुविधामा नपरी संसद् पुनर्स्थापनामा फोकस हुनुस् । यो पार्टी नीति र निर्णय हो ।’

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा २३–२४ को घटनाको जवाफदेही र जिम्मेवारी लिनेतिर नभई ओलीले सम्भावित परिस्थितिबारे नसोचिएको बताए । ‘त्यस प्रकारको परिस्थिति होला भन्ने सोचिएको थिएन,’ उनले भने । ओलीले एमालेले टोलटोलमा सुरक्षा दस्ता बनाउने घोषणा गरे । उनले ट्रेड युनियनको अधिकार कसैले खोस्न नसक्ने पनि बताए ।

सरकारले राजदूत फिर्ता बोलाएकोमा पनि ओलीले आपत्ति जनाए । देशको प्रतिनिधित्व गरेर गएका राजदूतलाई परराष्ट्रमा हाजिर गराउने भन्दै उनले आपत्ति जनाए । ‘सरकारका प्रतिनिधिलाई धेरै जिब्रो नचलाउन आग्रह गर्छु,’ ओलीले भने, ‘सरकारले अलिकति सम्हालिएर बोल्ने र व्यवहार गर्ने गर्नुपर्छ ।’

यसैबिच उनले ओलीले विगतमा पार्टी छाडेकालाई एमालेमा फर्किन आग्रह गरे । सोमबार साबिक एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीसहित १० जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । किसन श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिमल्सिना, राजाराम स्याङ्तान, बबी चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई र अम्बिका राई एमाले प्रवेश गरेका हुन् । झाँक्रीले विनासर्त एमाले फर्किएको बताइन् ।

ओलीले आगामी २७ मंसिरमा एमालेको शक्ति हेर्न चुनौती दिए । ‘२७, २८ र २९ मंसिरमा हाम्रो महाधिवेशन हुँदैै छ, त्यो भव्य हुनेछ । काठमाडौंले नदेखेको र्‍याली, सभा मंसिर २७ मा देखिनेछ,’ उनले भने, ‘एमाले के हो भन्ने हेर्न मंसिर २७ गते हेर्न आउनु ।’  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.