Connect with us

राजनीति

एमाले महाधिवेशनः प्रतिनिधि र सहभागीको कार्ड दुई दिनभित्र बनिसक्ने, दुई हजार ६१३ सहभागी हुने

Published

on

नेकपा (एमाले) को आसन्न ११औैँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको उक्त पार्टीको संगठन विभागले जनाएको छ । एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरूको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेको छ ।

विभागका प्रमुख अधिकारीले ‘ई–नवयुग’ प्रतिनिधिसँग कुरा गर्दै महाधिवेशनमा आउने मध्ये दुई हजार १५४ जना निर्वाचित भएर आउने बताए । १०८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुनेछन् । मनोनीतसहित प्रतिनिधिको संख्या दुई हजार २६२ जना हुने अधिकारीले जानकारी दिए । तात्कालीन नेकपा (एस)को ‘घरफर्क अभियान’बाट आउने मध्येबाट तीनजनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरूको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।

अधिकारीका अनुसार प्रतिनिधि छनोटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भइसकेको छ । ती जिल्लाहरुमा प्रतिनिधि छनोट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पुर्‍याएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरेको थियो । जसअनुसार दुवै जिल्लाबाट सर्वसहमत रूपमा प्रतिनिधि छनोट भएर आएका छन् ।

त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनोटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए । प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको उनले बताए । संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ ।

एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधिबाहेक थप ३५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरू सल्लाहकार परिषद्का सदस्यह हुन् । सल्लाहकार परिषद्मा ३७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६१३ जना सहभागी हुनेछन् ।

विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.