Connect with us

राजनीति

एमाले महाधिवेशनमा पार्टी संरचनाहरूको दुरुपयोग भएको उपमहासचिव योगेश भट्टराईको जिकिर

Published

on

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको एघारौँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको बताएका छन्। अध्यक्षमा पराजित ईश्वर पोखरेल समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले प्रतिनिधि छनोट, बन्दसत्रदेखि निर्वाचनसम्म नै संस्थापन पक्षले पार्टीका संरचनाहरूको दुरुपयोग गरेको बताए।

‘लोकतान्त्रिक प्रतिस्पर्धामा हामी सामेल भयौँ। यद्यपि त्यो लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो ? त्यो सबैले देखेकै छ,’ उनले भने, ‘प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरू उठाएको छ।’ यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिह्न खडा गरेको उनको भनाइ छ।

‘पार्टी संरचनाहरूको दुरुपयोग गरिएको छ। संगठन विभाग लगायतका निकायहरूको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोशिस भयो, त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ,’ भट्टराईले भने, ‘जेसुकै भए पनि यसको समीक्षा आगामी दिनमा हुँदै जाला। पार्टीको केन्द्रीय कमिटीको बैठक छ, २६, २७ र २८ गते, त्यहाँ पनि हामीले यसको समीक्षा गर्ने नै छौँ।’ उपमहासचिव भट्टराईले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए। लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने उनले बताए।

‘एउटा लोकतान्त्रिक अभ्यासमा भाग लिईसकेको हुनाले यसको परिणामलाई हामीले सहज रुपमा स्वीकार्छौं। आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ’ उनले भने, ‘उहाँले ल्याउने सकारात्मक प्रस्तावलाई हामीले समर्थन गर्दछौँ। यदी पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रश्तावहरु आएभने हामी त्यसको प्रतिवाद गर्छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएका राम्रा पक्षहरूलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएमा प्रतिवाद गर्ने उनको भनाइ थियो। आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने भट्टराईले बताए। ‘पार्टीलाई आगामी निर्वाचन लगायतका वाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न हामी हरदम पार्टीको पक्षमा खडा हुनेछौँ। पार्टीभित्र हामी कुनै अराजनितिक वार्गेनिङ गर्दैनौँ। तर राजनितिक मुद्दामा हामी सधै पार्टीभित्रको आन्तरिक संघर्षमा सामेल हुन्छोँ,’ भट्टराईले भने, ‘यतिबेला विभाजन होईन र आत्मसमर्पन पनि होईन, निरन्तर सर्घष हाम्रो लाईन हुनेछ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.