राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच आज बिहानीपख भएको लिखित सहमतिले अनेक प्रश्न जन्माएको छ । रास्वपामा बालेनको स्थान कहाँ ? के रविसँग सहमति गर्दैमा वा उनले दिँदैमा प्रधानमन्त्री पद पाइने हो ? रास्वपा र बालेनले प्रधानमन्त्री बन्न सक्ने गरी विजय प्राप्त गर्न सकेनन् भने सहमति के होला ?
रवि र बालेनबिच भएको सहमतिमा रास्वपाका उपसभापतिद्धय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालसँगै थिए भने वार्ता टोलीका असिम साह र शिशिर खनाल पनि थिए । यता बालेनका तर्फबाट कुमार बेन, भुपदेव साहलगायत थिए । निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको दिदेखि बालेन मेयरको जिम्मेवारीबाट पदमुक्त हुनेछन् ।
नयाँ प्रतिनिधिसभामा मुलुकभरबाट चुनिएर आएका राजनीतिक दलका सांसदमध्ये बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री बन्छन् । अहिलेको निर्वाचन प्रणाली र अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने निकै न्यून छ ।