Connect with us

राजनीति

फैसलाको १४ वर्षपछि खुमबहादुरको जग्गा जफत

Published

on

भ्रष्टाचारबाट आर्जित कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित डेढ रोपनीभन्दा धेरै जग्गा र त्यसमा बनेको घर जफत गर्न सर्वोच्चले ०६९ मै दिएको थियो आदेश

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत २ वैशाखमा खड्काको सानेपास्थित एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा सरकारको नाममा ल्याएको छ । ‘सर्वोच्चको फैसलाअनुसार खुमबहादुर खड्काको एउटा कित्ता जग्गा हाम्रो नाममा ल्याइएको छ,’ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका निर्देशक सुभाष न्यौपानेले भने, ‘बाँकी पनि कार्यान्वयनकै प्रक्रियामा छौँ ।’

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको डेढ रोपनी जग्गा अदालतको फैसलाको १४ वर्षपछि जफत भएको छ । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत २ वैशाखमा खड्काको ललितपुरको सानेपास्थित एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा सरकारको नाममा ल्याएको हो ।

सर्वोच्च अदालतले ३० साउन ०६९ मै फैसला गर्दै खड्काको सानेपामा रहेकोसहित जग्गा भ्रष्टाचारबाट आर्जन गरेको ठहर गरी जफतको फैसला गरेको थियो । जफतको फैसला भएकोमध्ये २४९ नम्बरको कित्तामा पर्ने जग्गा मालपोत कार्यालयबाट सरकारको नाममा ल्याइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका निर्देशक सुभाष न्यौपानेले बताए । ‘सर्वोच्चको फैसलाअनुसार खुमबहादुर खड्काको एउटा कित्ता जग्गा हाम्रो नाममा ल्याइएको छ,’ उनले भने, ‘बाँकी पनि कार्यान्वयनकै प्रक्रियामा छौँ ।’ जग्गा जफतको निर्णय भए पनि अझै त्यसलाई खाली भने गराइएको छैन । खड्काकै परिवारले सो जग्गा प्रयोग गर्दै आएका छन् । घरको कम्पाउन्डभित्रै सो जग्गा पर्छ ।

सर्वोच्चले खड्कालाई एक वर्ष ६ महिना कैद र बिगोबमोजिम ९४ लाख ७४ हजार एक सय ११ रुपैयाँ १३ पैसा जरिवाना तथा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति र सोबाट बढे, बढाएको सम्पत्तिसमेत जफत हुने ठहर गरी फैसला गरेको थियो । सो मुद्दामा प्रतिवादी रहेकी खुमबहादुरपत्नी शिला शर्मा खड्काको नामको ललितपुर महानगरपालिका वडा नम्बर २ (क) कित्ता नम्बर २४९ क्षेत्रफल एक रोपनी ६ आना एक पैसा एक दाम लिखत मूल्य २० लाख ९२ हजार रुपैयाँको जग्गा र सोही वडाको कित्ता नम्बर १०७ को एक रोपनी ६ आना र कित्ता नम्बर एक सय ८६ को एक आना एक पैसा जग्गामध्ये घरबाहेकको जग्गाबाट २० लाख ५६ हजार नौ सय ८७ रुपैयाँ दुई पैसाबराबरको भागहिस्साको सम्पत्ति र सोबाट बढे, बढाएको सम्पत्ति जफत गर्नुपर्ने फैसलामा उल्लेख छ । तर, फैसलाअनुसार बढे, बढाएको जग्गा कसरी जफत गर्ने भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा कित्ता नम्बर १०७ मा पर्ने जग्गा भने अझै जफत हुन सकेको छैन ।

यसअघि रमेश लेखक गृहमन्त्री हुँदा २० लाख ५६ हजार बुझाएर जग्गाधनीलाई नै फिर्ता दिने गरी प्रक्रिया अघि बढाइएको थियो । यद्यपि, विशेष अदालतले त्यस प्रक्रियालाई रोक लगाइदियो । हाल भने अहिलेको चलनचल्तीअनुसार मूल्यांकन गरेर बढे, बढाएको सम्पत्ति जफत गर्ने गरी विभागले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । त्यतिखेरको सरकारी मूल्यांकनअनुसार २० लाख ९२ हजार रुपैयाँमा सानेपामा करिब १८ आना जग्गा खरिद गरिएको देखिन्छ । अहिले सो जग्गाको मूल्य करोडौँ पर्छ ।

खुमबहादुरकी पत्नी शिलाले त्यतिवेला अख्तियारमा गरेको बयानमा कित्ता नम्बर २४९ को एक रोपनी ६ आना एक पैसा जग्गा २०५८ सालमा २० लाख ९२ हजार रुपैयाँमा इन्द्रराज्य लक्ष्मीसिंहबाट खरिद गरेको उल्लेख गरेकी छिन् । सर्वोच्चले सो भन्दा ३६ हजार कम मूल्यबराबर जग्गा जफत गर्न भनेको छ । जसअनुसार करिब एक रोपनी पाँच आना जग्गा जफत गर्नुपर्ने देखिन्छ । तर, २० लाख ५६ हजार रुपैयाँ सरकारी खातामा बुझाएर करिब १७ आना जग्गा जोगाउने प्रयास भएको थियो । अब कानुन संशोधन गरी बढे, बढाएको मूल्यको हिसाब गरेर सो जग्गाको जफतसम्बन्धी निर्णय हुने भएको छ । सर्वोच्चले खड्काको मित्सुबिसी प्राडो गाडी, ३३ तोला सुन र २।९३ किलो चाँदी पनि बरामद गर्न भनेको थियो । सुन र चाँदी पनि हालसम्म जफत भइसकेको छैन ।
नयाँ पत्रिका

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.