Connect with us

राजनीति

शिक्षकहरुले राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिदै, आज कांग्रेसको पालो

Published

on

नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले आजदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएर संघीय शिक्षा ऐन जारी गर्न दवाब दिने भएका छन् ।

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको छ । त्यसैगरी फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते (नेकपा एकीकृत समाजवादीको कार्यालय) ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने बताइएको छ ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ । बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिअनुसार हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरुसँग भेटगरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दवाब दिने, चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनशन र चैत २० गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चित कालीन आन्दोलन हुनेछ । उक्त आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहने र सो अवधिमा सबै सरकारी कामकाज बहिष्कार गरिने महासंघको चेतावनी छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.