Connect with us

समसामयिक

विपिन जोशीको शव हस्तान्तरण

Published

on

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव हिजो सोमबार अपरान्ह इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।

हमासले बन्धक बनाएका २० जना जीवितलाई मुक्त गर्दै हिजै अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको घातक आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए । यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए ।

२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए । सँगै रहेका घाइते साथीलाई जोगाउन लागेका विपिनलाई हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो ।

विपिनको जन्म २०५७ मा बैतडीको तत्कालीन विजयपुर गाविस (हाल पुर्चौडी नगरपालिका–१०) मा भएको थियो । उनी बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा हुन् । विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिचको युद्ध रोकिएपछि हमासले बन्धक बनाइएर राखेका ४८ जनामध्ये २० जना जीवितलाई सोमबार रिहा गरेको छ ।
हमासले दुई चरणमा अन्तर्राष्ट्रिय रेडक्रसलाई २० जना जीवित बन्धक जिम्मा लगाएको हो । उनीहरूलाई इजरायली सरकारले आफ्नो भूमिमा स्वागत गरेर आवश्यकीय औधषोपचारको व्यवस्था गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यो युद्धविरामका लागि विशेष भूमिका निर्वाह गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रप स्वयं इजरायल पुगेर बन्धक बनाइएकाहरूको परिवारसँग भेट गरेका छन् । उनको यो पहलकदमीले मध्यपूर्वमा शान्ति कायम हुने अपेक्षा गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.