Connect with us

राजनीति

एमाले महाधिवेशनमा नेपालका १६ दललाई निम्तो, विदेशी पाहुना नबोलाइने

Published

on

नेकपा (एमाले) ले आफ्नो ११औँ महाधिवेशनलाई शुभकामनाका लागि देशभित्रका १६ दललाई निमन्त्रणा दिएको छ । तर, महाधिवेशनका लागि विदेशी पाहुना भने नबोलाउने भएको छ। आज बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालयको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन्।

बर्तौलाका अनुसार एमालेले भौतिक उपस्थितिका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र पठाउन भनिएको छ। एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म भक्तपुर र काठमाडौँमा हुँदै छ। महाधिवेशन उद्घाटनमा नेपालका १६ राजनीतिक दललाई आमन्त्रण गरिएको जानकारी बर्तौलाले दिएका छन् ।

‘यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ। उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ। उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ। विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टीहरू र गैरकम्युनिस्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ’, उनले भने, ‘नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ।’

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएइको नेता बर्तौलाले बताए। उनका अनुसार महाधिवेशनका लागि नेता, कार्यकर्ता काठमाडौँ आउने क्रम जारी छ।

महाधिवेशनमा १ सय ८ जना मनोनीतसहित २ हजार २ सय ६८ प्रतिनिधि सहभागी हुने जानकारी बर्तौलाले दिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.